डडेल्धुराको अजयमेरुमा स्वतन्त्र उम्मेदवार साउदको अग्रता कायमै
डडेल्धुराः कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार धनबहादुर साउदले अग्रता लिएका छन्। सुरुवाती ९ सय ५२ मत गन्दा साउदले २ सय ९५ मत प्राप्त गरेका छन्। साउदले नेकपा एमाले छाडेर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
दोस्रोमा कांग्रेसका टेकराज पाण्डेयले २ सय ३३ मत पाएका छन्। गत निर्वाचनमा विजयी भएका माओवादीका उमेश भट्टले भने १ सय ८४ मत पाएका छन्। उक्त गाउँपालिकामा एमालेका पदम पालले १ सय ४८ मत पाएको छ। त्यहाँ ३० मत बदर भएका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो।