सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको स्वास्थ्य सेवा सुधारका लागि प्रदेश सरकारको भुमिका शुन्य

२०७५ माघ २९, ११:०२ नवराज पनेरु

प्रदेश सरकार सञ्चालनको एक बर्ष भएपनि सुदूरपश्चिमको स्वास्थ्य सेवा जस्ताको त्यस्तै छ। सुदूरपश्चिम प्रदेशभरीका सम्पूर्ण स्वास्थ्य सस्थाहरु प्रदेश सरकारलाई हस्तान्तरण पनि गरिएको छ तर कुनै पनि स्वास्थ्य सस्थामा सेवा सुधार भने हुन सकेको छैन्। अहिले पनि अस्पतालहरुमा उपकरण, जनशक्ती, शैया र पुर्वाधारको अभाव कायमै रहेको छ। भएकै रिक्त दरबन्दीमा पनि प्रदेश सरकारले पुर्ति गर्न सकेको छैन्। उपक्षेत्रीय अस्पताल डडेल्धुरा, महाकाली अञ्चल अस्पताल कञ्चनपुर र सेती अञ्चल अस्पताल धनगढीको सेवा सुधारका लागि प्रदेश सरकारले कुनै योजना लागु गर्न सकेको छैन्। अस्पतालहरु हस्तान्तरण भएपनि अधिकार हस्तान्तरण नहुँदा सेवा सुधार गर्न नसकेको तर्क प्रदेश सरकारको छ। 

एक वडा, एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पतालको नीति अवलम्बन गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले भएकै स्वास्थ्य सस्थाको सुधारका लागि पनि एक बर्ष सम्म केहि गर्न नसकेको हो। अहिले पनि उप क्षेत्रीय अस्पताल डडेल्धुरा, २ वटा अञ्चल अस्पताल र अन्य जिल्ला स्तरीय १० वटा अस्पतालमा सेवा सुधारका लागि प्रदेश सरकाले कुनै पहल समेत गर्न सकेको छैन्। रिक्त दरबन्दी पुर्तिका लागि समेत कुनै पहल नभएको गुनासो अस्पतालहरुको छ। प्रदेश सरकारले पटक–पटक अस्पतालहरुको अवस्थाको विषयमा तथ्याङक माग गरेपनि सेवा सुधारका लागि कुनै पहल गर्न नसकेको सेती अञ्चल अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए । 

उप क्षेत्रीय अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरवन्दी भएको अवस्थामा अहिले वल्ल चार जना चिकित्सकहरु छन्। यस्तै २० जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल ८ जना मात्रै कार्यरत छन्। अन्य स्वास्थ्यकर्मीहरुको पनि अभाव रहेको छ। ३५ बर्षदेखि स्तरोन्नतिको पर्खाईमा रहेको सेती अस्पताल अस्पतालको सेवा खस्किदै गएको छ। स्थापनाको ३ दशक पुग्दा समेत अञ्चल अस्पतालले दरबन्दी अनुसारका चिकित्सक पाउन सकेको छैन्। दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ति नहँुदा अञ्चल अस्पतालको विजोग भएको छ। १८ जना विशेषज्ञ चिकित्सक सहित २७ जनाको चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल ३ जना विशेषज्ञ सहित ९ जना चिकित्सक मात्रै कार्यरत छन्। तर प्रदेश सरकारले भने सेवा सुधारका लागि केहि गर्न नसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।

प्रदेश सरकार सञ्चालनको फागुन पहिलो साता एक बर्ष पुग्दैछ। प्रदेश सरकार सञ्चालन भएपछि सुदूरपश्चिमका सबै अस्पताल र अन्य स्वास्थ्य सस्थाहरुलाई प्रदेशकै मातहतमा हस्तान्तरण पनि भईसकेका छन्। यदपि उपक्षेत्रीय अस्पताललाई भने संघीय सरकारकै मातहतमा राखेर विशेष सेवा सहितको अस्पताल बनाउने निर्णय भएको छ। सेती अञ्चल अस्पतालाई स्तरोन्नति नगरि प्रादेशिक अस्पतालको नाम दिने निर्णय पनि अहिलेसम्म कार्यान्वयन भएको छैन्। तर प्रदेश सरकारले भने अस्पताल हस्तान्तरण भएपनि अधिकार अहिले पनि हस्तान्तरण नभएकाले स्वास्थ्य सेवाको अवस्था सुधार हुन नसकेको तर्क दिएको छ। अहिले पनि ८ औँ तहभन्दा माथिका चिकित्सक राख्ने अधिकार प्रदेशलाई छैन्। आठौ तहसम्म करारमा राख्न पाउने अधिकार त छ तर बजेट नभएको प्रदेश सरकारले जनाएको छ। त्यसैले स्वास्थ्य सेवा सुधारका लागि प्रदेश सरकारले केही गर्न नसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन वहादुर हमालले स्वीकार गरे । 

सुदूरपश्चिमभरी अहिले पनि दरबन्दी छ तर कुनै पनि अस्पतालमा मुटुरोग विशेष डाक्टर छैनन्। मानसिक रोग विशेषज्ञ डाक्टर, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, न्यूरो लगायतको दरबन्दी भएपनि रिक्त रहेका छन। धेरै अस्पतालमा फिजिसियन डाक्टरको पनि दरबन्दी रिक्त छ। त्यसैले भएकै अस्पताल र अन्य स्वास्थ्य सस्थाहरुले सेवा दिन नसकेका बेला प्रदेश सरकारको एक वडा एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पतालको नीति पत्याउन पनि मुस्किल छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस