१३ लाखको सुर्तिजन्य सामाग्री सहित अछाममा २ जना पक्राउ
अछाम जिल्लामा २ जना सहित गाडी र अवैध रुपमा सुर्तिजन्य समाग्री प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी चौखुट्टे अछामबाट खटिएको प्रहरी टोलीले अछाम चौरपाटी गाँउपालिका वडा नं. ०६ स्थित रहेको प्रहरी चेक प्वाईन्टमा सवारी चेक जाँच गर्ने क्रममा २ जनालाई गाडी र अवैध रुपमा सुर्तिजन्य समाग्री सहित नियन्त्रणमा लिएको हो। मार्केटिङ गर्ने ब्यक्ति जिल्ला पर्सा बिरगंज उप–महानगरपालिका ०७ बस्ने ४६ बर्षिय सुनिल कुमार शर्मा सहित जिप चालक जिल्ला बारा बरेवा नगरपालिका ११ बस्ने ४० बर्षिय गोरख महतो पक्राउ परेका हुन्।
सो क्रममा से.१.च.२२७५ नम्वरको महेन्द्रा बलेरो पिक अप जिपमा अवैध रुपमा बिक्रिबितरण गर्न ल्याएका बिना स्टिकरका ‘जि’ सुर्ति एक सय बोरा पनि बरामद गरिएको छ। आन्तरिक राजश्व बिभागको स्टिकर नटासेको १३ लाख बराबरको समान बरामद गरिएको प्रहरी चौकी चौखुट्टेका ईन्चार्ज मदनसिह धामीले बताए। जिप सहित २ जना र सुर्तिजन्य समान प्रहरीको जिम्मा लगाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढीमा पठाईएको छ।