उपभोक्ता समितिहरु नाफामुखी बन्दै
अपनत्व पैदा गर्नका लागि स्थानीय वासिन्दाहरुको सहभागीतामा गठन गरिने उपभोक्ता समितीहरु पनि नाफामुखी बन्दै गएका छन् । स्थानीयस्तरमा हुने विकास निर्माणका काममा सहभागीता जनाउन् भन्नका लागि उपभोक्ता समिती बनाएर काम गर्ने गरिएकोमा उपभोक्ता समितीहरु पनि नाफामुखी बन्न थालेका हुन् । आफ्नो समितीले गर्ने गर्ने काम निर्माण व्यवसायीलाई दिएर समेत नाफा खाने गरिएको हो । आफै गरिएको काममा पनि जनश्रमदान नगर्ने प्रवृति बढ्दै गएको हो । यसले गुणस्तरीय काममा चुनौती थपिदै गएको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णवहादुर बोहोराले बताए ।
एक करोड मुनिका आयोजना उपभोक्ता समिती मार्फत गर्न सकिने सरकारी व्यवस्था भएपनि उपभोक्ता समितीहरु भने नाफामुखी बन्न थालेका छन् । उनीहरु आफ्नो भागमा परेको जन श्रमदान गर्न पनि मन गर्दैनन् भने सम्बन्धित निकायले दिएको रकमबाट नाफा खोज्ने प्रवृति हावी हुँदै गएको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मोहनवहादुर खत्रीले बताए । स्थानीय वासिन्दाहरुको अपनत्वका लागि उपभोक्ता समिती बनाएर उनीहरुलाई कामको जिम्मेवारी दिईने परिपाटी रहेको छ । त्यसमा आफ्नो गाउँ ठाउँमा हुने काम गुणस्तरी होस् भन्ने समेत चाहना गरिएको छ ।
टेण्डर मार्फत गराउँदा घटाघट भएर कम रकममा काम गर्नुपर्ने अवस्था आउने भएपनि उपभोक्ता समितीहरुले लागत अनुमानको पुरै रकम पाउने गरेका छन् । तर उपभोक्ताहरुमा समाजका लागि पनि केही गर्नुपर्छ भन्ने भावना हट्दै जाँदा कामको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शिववहादुर विक नाफा लिने प्रवृति बढेपनि काम पनि भईरहेको बताए ।
उपभोक्ता समितीका पदाधिकारीहरुलाई जिम्मेवारी र भूमिका विषयमा क्षमता अभिवृद्धि गर्न, योजना तर्जुमा प्रकृृया, भुक्तानी प्रकृया, योजनामा समावेशीकरण, सुचनाको हक सार्वजनिक परीक्षण लगायतका प्रक्रियाहरु प्नि गर्नुपर्ने हुन्छ । तर अधिकांश उपभोक्ता समितीहरुले सवै प्रक्रिया पुरा नगरेरै काम गर्दै आएका छन् । उपभोक्ता समितीमा बस्न तछाँडमछाँड गर्ने र काम प्रभावकारी नहुने अवस्थालाई सुधार गर्नतिर पनि लागिरहेको वडा नम्बर ६ का वडाध्यक्ष हेमराज ओझाले दावी गरे ।