देउवाले ३२ वर्षसम्म डडेल्धुराका जनतालाई ठगेः कर्ण मल्ल
धनगढी: नेपाली काँग्रेस डडेल्धुराका पूर्व पार्टी सभापति कर्णबहादुर मल्लले प्रधानमन्त्री शेरबहादुर देउवाले ३२ वर्षसम्म डडेल्धुराका जनतालाई ठगेको आरोप लगाएका छन्। उनले मंगलबार साँझ डडेल्धुरास्थित तुफानडाँडामा आयोजना गरिएको कोर्णसभामा यस्तो बताएका हुन्।
'३२ वर्ष यहाँका जनतालाई ठग्नुभयो। ३२ वर्ष तपाईंको पथमा हिँडेका हामीजस्ता कार्यकर्तालाई पीडामा त राख्नुभयो राख्नुभयो। अब अमरगढीको विकासलाई अवरोध गर्ने कुचेष्टा नगरिदिनुस्’ उनले भने। साथै मल्लले देउवाले प्रदेशको राजधानी डडेल्धुरा सार्छु भनेर झुट बोलेको समेत आरोप लगाएका छन्।
‘जुन संविधानको सपथ खाएर प्रधानमन्त्री बन्नुभएको छ, त्यहीँ संविधानमाथि धावा बोल्नुभएको छ, संविधानको २८८ धाराको २ मा प्रष्ट व्यवस्था छ– कुनै पनि प्रदेश राजधानी तोक्ने अधिकार त्यो प्रदेश सरकारको निर्णयबाट र संसदको दुई तिहाइबाट सार्न सक्ने संवैधानिक व्यवस्थालाई चुनौति दिनुभएको छ,’ उनले भने,‘जतिखेर सम्माननीय प्रधानमन्त्रीको दस्खतले डडेल्धुरामा राजधानी आउँथ्यो, त्यतिखेर तपाईंले धनगढीमा राजधानी तोक्नुभयो। आज डडेल्धुराका मतदातालाई फेरि भ्रममा पार्नका लागि झुटो बोल्नु भएको छ।’
मंगलवार दिउँसो सदरमुकामै नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले आवश्यक संरचना बने डडेल्धुरामा सुदूरपश्चिमको राजधानी सार्न सकिने बताएका थिए।