अजोभस्टलमा यूक्रेनी सैनिकहरू लुकेर बसेका र अन्तिमसम्म लड्न तयार रहेको यूक्रेनी सेनाको दावी
कीभ, युक्रेन: रूस नियन्त्रित शहर मारियुपलमा रहेको अजोभस्टल स्टील कारखानामा यूक्रेनी सैनिकहरू लुकेर बसेको बताइएको छ। रूसी सेनाका गतिविधि नियालीरहेको यूक्रेनी सैनिकले रुसी सेनाबाट प्रतिशोधको डरले आत्मसमर्पण गर्न नसकेको आइतबार बताएका छन्।
“हामी, मारियुपोलको वरपर रहेका सबै सैनिक कर्मचारीहरू, रूसी सेनाले गरेका युद्ध अपराधहरूलाई प्रत्यक्ष देखेका छौं। हामी साक्षी छौं। आत्मसमर्पण एउटा विकल्प होइन किनभने रूसले हाम्रो जीवनको कुनै प्रवाह गर्दैन,” अजोभ रेजिमेन्ट गुप्तचर अधिकारी इया सामोलेन्कोले भने।
“हाम्रा सबै सरसामानहरू सीमित छन्। हामीसित अझै साहस छ। प्रशस्त खाने खाद्यान्न नभएपनि हामीसँग अझै स्वाभिमान छ र यसले हामीलाई उर्जा दिएको छ। हाम्रा पाखुराहरू थाकेका छैनन्। हामीसँग सीमित भएपनि व्यक्तिगत हतियारहरू छन्। स्थितिको सर्वोत्तम समाधान नभएसम्म हामी लड्नेछौं,” सामोलेन्कोले भने।
युक्रेनले संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा भएको मानवीय मिसनका क्रममा सबै महिला, बालबालिका र वृद्ध नागरिकलाई अजोभस्टलबाट भाग्न दिइएको जनाएको छ।