सुदूर नेपाललाई विश्वसँग जोड्दै

रैथाने जातका कुखुरापालनमा भविष्य खोज्दै उत्तम प्रकाश

२०७५ माघ २७, १२:१२ नवराज पनेरु

स्थानीय जातका (लोकल) कुखुरा भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन्। मांशहारीहरु लोकल कुखुरा खोजीखोजी खाने गर्छन्। लोकल कुखुरा पाएसम्म उन्नत जातका कुखुरामा धेरैको मन पनि जाँदैन। शहरीकरणको बढ्दो प्रभाव ग्रामीण भेगमा समेत पर्न थालेपछि कुखुराको रैथाने जाति हराउँदै जान थालेको छ। तर वैदेशिक रोजगारीबाट फर्किएपछि कञ्चनपुरका एक जना युवाले भने ठुलो लथानीमा स्थानीय जातका कुखुरापालन सुरु गरेका छन्। उन्नत जातका कुखुराको उत्पादन बढेसँगै रैथाने कुखुरा घट्दै र हराउँदै गएको अवस्थामा कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ११ अमरवस्थीका उत्तमप्रकाश मल्लले स्थानीय जातको कुखुराको व्यावसायिक पालन सुरु गरेका हुन्।

कैलाली, कञ्चनपुरमा रैथाने जातका कुखुराको माग धेरै भएपनि धेरै कमले व्यवसायिक रुपमा पालन गरिरहेकाले मल्लले रैथाने कुखुरा पालन सुरु गरेका हुन्।  मल्लले ७ बर्ष अगाडि धेरै सुदूरपश्चिमेली युवाहरुकै सिको गर्दै वैदेशीक रोजगारीको बाटो रोजेका थिए। बैदेशिक रोजागरीका लागि मल्लको रोजाईमा कोरीया प¥यो। कोरीयामा ५ बर्ष पसिना बगाईसकेपछि स्वदेशमै पौरख गर्नुपर्ने लक्ष्य सहित स्वदेश फर्किएका मल्ललाई सुरुवातमा भने पानीको व्यवसाय सञ्चालन गर्ने रहर थियो। कोरियामा पनि सोही क्षेत्रमा उहाँले काम गरेका थिए। 

पानीको व्यवसाय सञ्चालनका लागि झण्डै एक बर्ष अध्ययन गरेका मल्लले एकाएक उद्देश्य परिवर्तन गर्दै कुखुरा पालनमा चाँसो दिए। कुखुरमा पनि धेरैले अहिले छोटो समयमा धेरैं उत्पादन लिन सकिने, थोरै दानामा पनि धेरै उत्पादन हुन सक्ने र आम्दानी पनि बढी लिन सकिने सोचका साथ उन्नत जातका कुखुरा पालन गरिरहेका छन्। तर मल्लले भने रैथाने जात हराउन थालेको तर माग अहिले पनि बढी नै भएकाले रैथाने जातका कुखुरा पालन सुरु गरेका हुन्। झण्डै ४५ लाखको लगानीमा कुखुराको व्यवसायिक फार्म सञ्चालन गरेका मल्लले अहिले पनि ६ सय कुखुरा पालन गर्दै आएका हुन्। उनको लक्ष्य मासिक १ हजार कुखुरा विक्री गर्ने रहेको छ। आफ्नै घर नजिकैको जग्गालाई तारबार गरेकाले कुखुराले पर्याप्त जग्गामा सुरक्षित रूपमा चर्न पाएका छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस