सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकै रोचक लडाइँ अमरगढीमाः काँग्रेस भर्सेज काँग्रेस, एस र माओवादी दाउमा

२०७९ वैशाख २४, ०५:३१ आशिष मल्ल

धनगढी: नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा। त्यसमा पनि सदरमुकाम रहेको अमरगढी नगरपालिका। स्थानीय निर्वाचन आउन ६ दिन मात्रै बाँकी रहँदा त्यहाँको चुनावी माहोल धेरै गरम भइसकेको छ। काँग्रेसको किल्ला मानिने अमरगढीमा २०७४ का बेला काँग्रेस हारेको थियो। तर गुमेको साख फर्काउन काँग्रेस यसपालि जोडतोडका साथ लागेको छ। 

२ गुट रहेको नेपाली काँग्रेसको एक गुट छाडेर गइसकेपछि जित निकाल्न सहज भएको मान्दै काँग्रेसले आफ्नो प्रचारप्रसार तिव्र बनाएको छ। यसै सम्दर्भमा गत विहीवार देउवा पत्नी डा आरजु राणा देउवालाई डाँकेर काँग्रेसले बसपार्कमा चुनावी सभा आयोजना गरेको थियो। 

तर त्यसरी जित निकाल्न नसकिने काँग्रेसकै नेता बताउँछन्। अर्को समूहका कमाण्डर पूर्व पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सांसद कर्णबहादुर मल्लले नेपाली काँग्रेस विपीलाई अंगालेर संठन बनाएका छन्। त्यसैमा उक्त समूहले गत निर्वाचनमा अमरगढीमा बाजी मारेको नेकपा एमालेसँग हात मिलाएको छ। त्यसैले आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले देउवालाई चुनौति थपिदिएको छ। 

हाल अमरगढीमा काँग्रेस, काँग्रेस विपी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना बलिया उम्मेदवारलाई रणभूमिमा उतारेको छ। काँग्रेसबाट मेयरमा डिल्लीराज जोशीले टिकट पाएका थिए। यस्तै नेकपा एमाले र नेपाली काँग्रेस बिपी गठबन्धनबाट प्रमुखमा काँग्रेस विपीका हरिप्रसाद भट्टलाई अघि सारिएको छ। 

यसैगरी नेकपा माओवादी केन्द्रबाट लक्ष्मण सिंहले नगरप्रमुखको पदमा बस्ने मौका पाएका छन्। भने,  नेकपा एकीकृत समाजवादीबाट संगिता भण्डारीलाई अघि बढाइएको छ। यी मध्ये को बलियो हुन् त ? दिनेशखबरको रिपोर्ट यस्तो छ। 

काँग्रेस विपीका भट्ट सबैभन्दा बलिया हुन् त ?
२० वर्षभन्दा बढी समय वकालत गरेको अधिवक्ता हरिप्रसाद भट्टलाई अहिले अमरगढीमा सबैभन्दा बलिया उम्मेदवारको रुपमा हेरिएको छ। कारण, उनले गरेको २ महिनाको मेहनत। काँग्रेसले अमरगढीमा उम्मेदवार खडा गरेको २ साता मात्रै भएको छ। तर हरि भटट्ले  विगत २ महिना अघिदेखि ‘हरि भट्ट जिताउ अभियान’ नै थालेर चुनावी प्रचार थालिसकेका थिए। काँग्रेसबाट टिकट पाए ठिकै नपाएको खण्डमा स्वतन्त्र लड्ने भनेर भेटघाट गरिरहेका उनी अन्तिम समयमा आफ्नो पूरो टिम मल्ल पक्षसँग जोडिएका थिए। अमरगढीमा बलियो मल्ल समूह काँग्रेस विपीमा गएपछि भट्टले सोही समूहबाट टिकट पाएका थिए। विपी काँग्रेससँगै गत निर्वाचनमा अमरगढीमा कब्जा गरेको नेकपा एमाले पनि रहेकाले हरि भट्टले एमालेको भोट पनि पाउनेछन्। विपी काँग्रेस र एमालेबीच मेयरमा काँग्रेसका हरि भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीलाई सहयोग गर्ने सहमति भइसकेको छ। 

गत निर्वाचनमा समेत अमरगढीको मेयर पदमा इच्छा देखाएका उनले अन्तिम समयमा टिकेट पाएका थिएनन्।  ३ पटक २०६२, ०६७ र ७२ मा लोकप्रिय मत ल्याएर काँग्रेसको महाधिवेशन महासिमितमा विजयी भएका भटट्को सक्रिय राजनीति २०४६ सालबाट सुरु भएको थियो। ‘विद्यार्थी राजनीति गरेर २०५३ सालमा क्षेत्रिय प्रतिनिधि भए। २०५७ सालमा नगर सभापति बनेको थिए’ उनले भने, ‘त्यसपछि ६२ महाधिवेशन प्रतिनिधि, ६७ सालमा महासमिति सदस्य र ७२ सालमा फेरि महाधिवेशन प्रतिनिधि भए।’

टिकट पाएर अमरगढीको मेयर पदमा विजयी भएमा सर्वप्रथम ‘स्मार्ट सिटी’को नारा दिइएको भ्रम चिर्ने उनी प्रतिवद्धता व्यक्त गरिसकेका छन्। सुरुमा सदरमुकामको अव्यवस्थित सडक व्यस्थापन गरी वन कार्यालयदेखि मालम दोबाटासम्म नयाँ आकर्षक बजार बिस्तार गर्ने उनको लक्ष्य छ।

काँग्रेसलाई नजरअन्दाज गर्न सकिन्न !
लामो समयदेखि नेपाली काँग्रेसमा आवद्ध मेयरका उम्मेदवार दिल्लीराज जोशी सामाजिक अभियन्ता हुन्। उनी डडेल्धुराको वन संरक्षण पर्यावरण बचाउ अभियानमा राष्ट्रिय स्तरमा तत्कालीन राजा बीरेन्द्रबाट पुरस्कार पाएका नेता हुन्।
साथै जोशीले पहिलो पटक सुदूरका पहाडी जिल्लामा पाइने लालीगुराँसको फूलबाट जुस बनाउने नयाँ प्रविधि भित्राएका थिए। काँग्रेसको किल्ला मानिने अमरगढीमा काँग्रेस कार्यकर्ताको साथ हुने हो भने उनी सहजै जित निकाल्न सक्छन्। तर गत निर्वाचन जसरी उनले आफ्नै कार्यकर्ताको सहयोग नपाए गाह्रो हुनेछ। तर काँग्रेसको मल्ल समूहका धेरै नेता तथा कार्यकर्ता जिल्ला अधिवेशनका बेला हालका जिल्ला सभापति भिमबहादुर साउदसँग गएका थिए। मल्ल समूह त्यागेका नेता तथा कार्यकर्ता काँग्रेसमा फर्किएकाले डिल्लीराज जोशीले उनको साथ पाएका छन्। तिनै कार्याकर्ता अहिले उनको प्रचारप्रसारमा सक्रिय छन्।

जोशीले सम्वद्ध नगर निमार्णका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। ‘नगरको अवस्था जताततै भताभुंग भएको छ। मैलै जितेमा अबका ५ वर्षको अवधिमा पूरै परिवर्तन गर्नेछु’ उनले भने। अमरगढीका ग्रामीणदेखि बजार क्षेत्रसम्म विकास निमार्णमा आफू इमान्दार भएर लाग्ने बताउदै उनले यसपटक पार्टीभित्र अन्तरघात नहुने भएकाले जित सुनिश्चित रहेको बताए। 
गत निर्वाचनामा उनले काँग्रेसभित्रकै पूर्व पार्टी सभापति कर्णबहादुर मल्ल समूहले असहयोग गरेको आरोप लगाएका थिए। 

अनुभवी महिला उम्मेदवार संगीता
अमरगढीका नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसिसकेकी संगिता भण्डारीले धेरै अनुभव बटुलिसकेकी छिन्। नेकपा एकीकृत समाजवादी पार्टी डडेल्धुराबाट अमरगढी नगरप्रमुखमा उम्मेदवारी दिएकी भण्डारीलाई नगरभित्र कहाँ कस्ता मतदाता छन् भन्ने ज्ञान भइसकेको छ। न्यायिक समिति हाँकिसकेकी उनी नगरका महिलासँग नजिक छिन्। पूर्व पत्रकार समेत रहेकी उनीलाई मतदाता रिझाउने ‘आइडिया’ छ। उनले अघिल्लो चुनावको अनुभवलाई समेत यसपटक भरपुर प्रयोग गर्नेछिन्। 

भण्डारीले महिलाहरू नगर हाक्न सक्छन् भन्ने देखाउन अमरगढीको मेयरमा उम्मेदवारी दिएको बताएकी छिन्। ‘महिलाहरू पनि नगरको विकास गर्न सक्छन् भन्ने सन्देश दिनका लागि मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘हामी महिलाहरू पनि सक्षम छौं। पुरुषसँगै हामी प्रतिष्पर्दा गरेर अगाडी जान सक्छौं।’

०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पार्वती झुकाललाई पराजित गर्दे भण्डारी उपप्रमुखमा विजयी भएकी थिइन्। गत निर्वाचनमा काँग्रेससँग एकल रुपमा प्रतिस्पर्धा गरेकी उनलाई यसपटक केही सहज भएको छ। काँग्रेस २ टुक्रा हुँदा भण्डारीले बाजी मार्ने सम्भावना प्रयाप्त रहेको स्थानीयवासी बताउँछन्। 

माओवादीका उम्मेदवार पनि कम छैनन् है !
पूराना काँग्रेसका नेता लक्ष्मण सिंहले केही समयअघिसम्म डडेल्धुरामा समाजवादी पार्टी, नेपाल(जसपा)मा रहेर राजनीति गरेका थिए। जसपाका केन्द्रीय सदस्य रहेका उनलाई माओवादीले केही समय अगाडि मात्रै भित्रएको थियो। तत्कालीन उपक्षेत्रिय अस्पतालका अध्यक्ष समेत रहेका उनी नगरपालिकामा प्रख्यात व्यक्ति हुन्। अस्पताल व्यवस्थापनमा उल्लेखनीय काम गरेका उनीसँग अमरगढीका थुप्रै नागरिकको साथ छ। अस्पतालको अध्यक्ष हुँदाबखत विभिन्न सहयोग गरेका उनलाई अमरगढीवासीले पैँचौ नफर्काउलान् भन्न सकिन्न। अमरगढीमा कमजोर माओवादी भन्दा उनको व्यक्तित्व हेरेर जनताले मत दिनसक्ने स्थानीय रोहित पाठक बताउँछन्। 

काँग्रेस २ भागमा बाँडिएपछि त्यसका मत पनि २ खण्डमा विभाजित हुने निश्चित छ। यस्तै एमाले पनि २ फ्याकमा बाँडिएर एकीकृत समाजवादी ब्यूतिएको छ। त्यहाँ पनि मत काटिनेछन्। त्यसै मौकामा लक्ष्मण सिंहले मत चोर्न सक्नेगरी जितको दाउ लगाएको अमरगढीवासीको आकलन छ। 

जितका फ्याक्टर:
कुन वडामा को बलियो ?

११ वडा रहेको अमरगढी नगरपालिकामा सबैभन्दा बलिया विपी काँग्रेस र एमालेको गठबन्धन देखिएको छ। उक्त गठबन्धनसँग ६ वडाअध्यक्ष रहेका छन्। जसमध्ये वडा नम्बर ४, ७, ९ र  १० गरी ४ वडाअध्यक्ष एमालेका हुन्। वडा नम्बर २ र ८ का वडा अध्यक्ष नेपाली काँग्रस विपीका हुन्। 

यस्तै नेपाली काँग्रेससँग वडा नम्बर १, ३ र ६ गरी ३ वडा रहेका छन्। उता एकीकृत सामाजवादीसँग ५ र ११ गरी २ वडा अध्यक्ष रहेका छन्। गत स्थानीय निर्वाचनमा अमरगढीमा माओवादी निल भएको थियो। 

देउवाको बोली
गृह जिल्लामा आफ्नै प्रतिद्धन्दी कर्णबहादुर मल्ल समूह तथा अन्य पार्टीले जितोस् भन्ने चाहना सभापति देउवाको बिल्कुल हुँदैन। उनले मतदातालाई प्रभाव पार्न विभिन्न रणनीति अपनाउँछन्। त्यसै अनुसार बिहीवार उनले आफ्नी पत्नीलाई डडेल्धुरा पठाएका थिए। त्यति मात्रै होइन उनी स्वंयम् यहि २७ गते डडेल्धुरा पुगेर भाषण गर्नेछन्।

काँग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने तालिका अनुसार उनी २७ गते गृह जिल्ला जानेछन्। त्यहाँ पनि देउवासहित नेता रामचन्द्र पौडेल र सहमहामन्त्री बद्री पाण्डे लगायतले चुनावी सभालाई सम्बोधन गर्नेछन्।

हिजो शनिवार मात्रै पाँचदलीय देउवाले गठबन्धनबाट भरतपुर महानगरपालिका चितवनकी प्रमुख रेनु दाहालको पक्षमा भाषण गरेका थिए। शेरबहादुर देउवाको भरतपुरमा बास बसाइ र पाँचदलले गरेको चुनावी सभाको प्रभावका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्रीको पक्षमा त्यहाँका काँग्रेस कार्यकर्ता खुलेका थिए। 

त्यसै अनुसार डडेल्धुरामा पनि देउवाको बोलीले प्रभाव पार्ने डर काँग्रेस विपीसहित अन्य दलललाई छ। देउवाले प्रत्यक्ष भेटेर रुष्ट नेता तथा कार्यकर्तालाई सहयोग मागे कोही पनि नाईं भन्न नसक्ने बताइन्छ। जिल्ला सदरमुकाममा हुने चुनावी सभा, जिल्लामा देउवाको बासले डडेल्धुराका मतदातालाई प्रभावित पार्ने आकलन गरिएको छ।  गत स्थानीय निर्वाचनका बेला पनि उनले गृह जिल्लामै बसेर नेता तथा कार्यकर्तासँग बैठक गरेका थिए। 

काँग्रेसभित्र अन्तरघात हुने खतरा
काँग्रेसको एउटा समूह काँग्रेस विपीमा मिसिए पनि काँग्रेसभित्र पूर्व पार्टी सभापति मल्ल समूहका पूराना सहयात्रीहरु छन्। कतिपयलाई त मल्लले नै राजनीतिमा ल्याएका पनि थिए। मल्लले विगतमा गरेको सहयोगका कारण उनीहरुको सहानुभूति मल्लप्रति अझै कायम छ। कर्ण मल्लले उनीहरुसँग चुनावमा सहयोग मागे ती नेता कार्यकर्ताले भित्री रुपमा सहयोग गर्नेछन्। ‘हामी काँग्रेसमै रहेता पनि उहाँ(कर्णबहादुर मल्ल)लाई ‘हाइड’ भएर सहयोग गर्न सक्छौं। तर खुलेर हामी आउँदैनौं’ काँग्रेसका एक नेताले भने।  

काँग्रेस नै काँग्रेसको वैरी
डडेल्धुरामा अहिले २ काँग्रेसबीच नै प्रमुख लडाईं हुने तय छ। यसबीचमा अन्य पार्टीले मौकाको फाइदा उठाउन सक्छन्। त्यस्तै प्रवल सम्भावना अमरगढीमा पनि देखिएको छ। काँग्र्रेस र विपी काँग्रेसले एकअर्काको मत काट्ने सम्भावना भएकाले नेकपा (एस) र माओवादीका उम्मेदवारले जित्नका लागि विभिन्न योजना बनाउन थालेको छन्। 

यो पनि:

कर्ण मल्ललाई प्रश्न– संघीय चुनावमा शेरबहादुर देउवाविरुद्ध लड्नुहुन्छ ?

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस