सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्ण मल्ललाई प्रश्न– संघीय चुनावमा शेरबहादुर देउवाविरुद्ध लड्नुहुन्छ ?

२०७९ वैशाख १४, ०४:५३ खबर संवाददाता

धनगढी : डडेल्धुराका सबै पालिकामा कांग्रेसभित्र विद्रोह भएपछि पूर्वजिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल कार्बाहीमा परेका छन्। काँग्रेस केन्द्रीय कार्यालयले मल्ललाई साधारण सदस्य पनि नरहने गरी मंगलबार पार्टीबाट निकालेको हो।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा मल्ल पक्षले स्थानीय चुनावमा नेपाली कांग्रेस (विपी) को चिन्ह लिएर नेकपा एमालेसंग सातवटै पालिकामा तालमेल गरेपछि मल्ललाई कार्बाही भएको हो। यद्यपी कारबाहीपत्रमा स्पष्ट कारण भने खुलाइएको छैन।

‘नेपाली कांग्रेस डडेल्धुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कार्बाहीपछि के भन्छन् मल्ल ?
पार्टीले कार्बाही गरेपछि मल्लले काँग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्। ‘मेरा लागि यो पहिलो अनुभव होइन,’ मल्लले दिनेशखबरलाई भने, ‘नेपाली काँग्रेस प्रजातान्त्रिकबाट पनि मलाई यसैगरी निष्कासित गरिएको थियो। सम्मानीय प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले पटकपटकको अथक प्रयासपछि मलाई पार्टीबाट निकाल्न सफल हुनुभएको छ। उहाँलाई बधाई दिन चाहन्छु।’

देउवाले अवचेतन मनबाट पार्टी र मुलुक चलाइरहेको आरोप मल्लको छ। ‘अवचेतन मनबाट पार्टी र मुलुक चलाउँदा अहिले देश र पार्टी दुबैको अवस्था बिग्रिएको छ,’ मल्लले भने। अब हुने संघीय चुनावमा शेरबहादुर देउवाविरुद्ध लड्नुहुन्छ ? भन्ने दिनेशखबरको प्रश्नमा मल्लले भने, ‘३० गते हुने स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएपछि निर्णय लिन्छु। त्यसैमा देशको वर्तमान अवस्था हेर्दा यो वर्ष नै प्रतिनिधिसभाको निर्वाचन हुने सम्भावना निकै कम छ।’

आफ्नो राजनीतिक जीवनमा देउवाको कुनै पनि किसिमको योगदान नरहेको मल्लको दाबी छ। ‘प्रजातान्त्रीक काँग्रेस गठन हुँदा ११ सदस्यीय कमिटी बनेको थियो, ११औं नम्बरको सदस्य म आफैं थिए,’ मल्लले भने, ‘त्यहि पार्टीको जिल्ला अधिवेशन हुनुभन्दा केही दिन अगाडि देउवाले मलाई साधारण सदस्यबाटै निकाल्नु भएको थियो। त्यसपछिको दिनमा मेरो जीवनमा उहाँको कुनै पनि किसिमको लगानी छैन। बरु उहाँको राजनीतिक जीवनमा मेरो लगानी छ।’

किन टुट्यो आत्मीयता ? 
बहुदल आएपछि देउवा डडेल्धुरा पुग्दा मल्ल नेविसंघको जिल्ला उपाध्यक्ष थिए। कार्यक्रममा देउवासंगै घुम्ने अवसर पाए मल्लले। पञ्चायती व्यवस्थाविरुद्ध र जनताको पक्षमा गीत पनि गाए मल्लले। मल्लको गायकी मन पराएका देउवाले सुदूरपश्चिमभरि घुम्ने टोलीमा मल्ललाई पनि राखे। 

त्यसपछि देउवाको नजिकका पात्र भए कर्ण मल्ल। ०४८ मा देउवा गृहमन्त्री हुँदा मल्ल काठमाडौंमा कलेज पढ्थे। देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा मल्लले निजी सचिव भएर काम गरे। आर्थिक र प्रशासनिक अख्तियारीनामा लिएर उनले देउवाको प्रमुख स्वकीय सचिव भएर काम गरे। 

स्वकीय सचिवालय मिलाउने, राजनीतिक भेटघाट गराउनेदेखि आर्थिक अख्तियारीअनुसार काम गर्ने अधिकार उनलाई नै दिइएको थियो। काँग्रेस विभाजित हुँदा पनि मल्ल देउवासँगै थिए। केही समयपछि भने उनी पार्टीबाट निष्कासित भए। मल्लका अनुसार सो समयमा परिवारवाद, नातावाद, कृपावाद भइरहेको छ भन्दै विधि, विधान र पद्धतिका लागि आवाज उठाउनेमा देउवा अगाडि थिए। 

सो समयमा देउवा र उनकी पत्नी आरजुबाट एकदमै माया पाएका व्यक्ति हुन मल्ल। डडेल्धुरा जिल्लाबाट आरजुलाई महासमिति सदस्य बनाउन खोज्दा आफूले विरोध गरेको र सोही कारणले पार्टीको हितविपरीत काम गरिएको भन्दै पार्टी सदस्यबाट दुई वर्षका लागि निकालिएको दाबी मल्लको छ। तर देउवा निकट कार्यकर्ताको धारण भने फरक छ। देउवाको प्रमुख स्वकीय सचिव हुँदा मल्लले देउवाको नाममा आर्थिक हिनामिना गरेपछि मल्ललाई पार्टीबाट निकालिएको उनीहरुको धारणा छ।

‘देउवाले नेतृत्व गरेको सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम’’ को आरोप लगाई विघटन गरेका थिए,’ काँग्रेस डडेल्धुराका एक नेताले भने, ‘सो समयमा देउवालाई सरकारबाट हटाउन सक्रिय भएका काँगे्रस नेताको पक्षमा मल्ल लागेको पनि आरोप थियो।’ तर मल्लले भने ०७१ सालदेखि देउवाले जिल्लामै गुटको राजनीति गरेको आरोप लगाउँदै आएका छन्।

सोही समयदेखि मल्ल र देउवाको आन्तमीयता टुटेको बताउँछन् केही कार्यकर्ता। कांग्रेसको १४औं महाधिवेशनका बेला वडा अधिवेशनदेखि नै डडेल्धुरामा मल्ल पक्षका नेता/कार्यकर्ता असन्तुष्ट थिए। मल्लपक्षबिनै कांग्रेसले वडादेखि जिल्ला अधिवेशन गरेको थियो। क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै उनीहरूले सानेपामा अनसन पनि गरेका थिए। ३० गते हुने स्थानीय तह निर्वाचनबाटै बञ्चित हुने देखिएपछि नेपाली काँग्रेस (विपी)को चुनाव चिन्हमा उम्मेदवारी दिन बाध्य भएको मल्ल पक्षका नेताहरु बताउछन्।

कमेन्ट लोड गर्नुस