सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृह जिल्ला डडेल्धुरा पुगेर आरजुले सुनाइन् ‘निलो स्याल’को कथा 

काँग्रेसले मेयर नजितेको ठाउँमा बजेट पठाउँदैनौं: डा आरजु देउवा

२०७९ वैशाख २१, ०४:४६ आशिष मल्ल

धनगढी: नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा गृह जिल्ला डडेल्धुरा पुगेकी छिन्। जिल्लामा पार्टी २ फ्याक भएपछि उनी मतदाता रिझाउन डडेल्धुरा पुगेकी हुन्।  जिल्लामा पूर्व सभापति कर्णबहादुर मल्ल पक्ष विद्रोह गरेर नेपाली काँग्रेस विपीमा मिसिएको छ। उक्त समूह एमालेसँग तालमेल गरि चुनाव चिह्न करुवा बोकेर स्थानीय चुनावमा होमिएको हो। 

एउटा समूह नै विद्रोहमा उत्रिएपछि त्यसको असर चुनावमा देखिने भन्दै अर्को समूहलाई तनाव भएको छ। सोही चिन्ता सरलीकरण गर्न डा. आरजु गृह जिल्ला पुगेकी हुन्। काँग्रेसकी केद्रिय सदस्य समेत रहेकी उनले नेता तथा कार्यकर्तालाई उत्प्रेरित गर्न बुधबार सदरमुकामको बसपार्कमा भाषण गरेकी छिन्। 

उनले बिहे गरेर डडेल्धुरा आएपछि गाउँगाउँमा पुगेको बताइन्। ‘म बिहे गरेर आउँदा यहाँको अवस्था देखेर ४ सय वर्ष पछाडि आएजस्तो लागेको थियो। म खानेपानी नभएको, बिजुली नहुँदा सुत्न नसकिने ठाउँमा पुगेकी छु जस्तो लाग्यो’ उनले भनिन्, ‘तर अहिले सबै विकास भएको छ। यो कसले गर्यो ? शेरबहादुर देउवाले। त्यसैले यो धर्तीलाई माया गर्नेले रुखमा भोट हाल्छ।’ उनले डडेल्धुुराले आफूलाई माइतीभन्दा बढी माया दिएको समेत बताइन्। 

उनले पूर्व जिल्ला सभापति एवं पूर्व सुदूरपश्चिम सांसद मल्ललाई लक्षित गर्दै आफ्नो बारेका नानाथरी कुरा गरिएको आरोप लगाइन्। ‘आफ्नो निजी स्थार्थका लागि मेरा बारेमा नानाथरी कुरा गरिएको छ। उनी (मल्ल पक्ष)हरु नक्कली काँग्रेस हुन्’ उनले भनिन्। 

मल्ल पक्षलाई तुलना गरेर आरजु देउवाले निलो स्यालको कथा समेत सुनाइन्। ‘एउटा जंगलमा कुखुरा चोर स्याल रहेछ। एकदिन त्यो स्याल कुखुरा चोर्न गाउँ पसेछ। कुखुरा चोर्दा उसको शरीरमा निलो रङ्ग पोखिएछ। त्यसपछि जंगल जाँदा उसलाई देखेर सबै डराएछन्। उसलाई ‘‘तँ को होस्’’ भन्दा उसले ‘‘म राजा हुँ, चमत्कार गर्न सक्छु, यो जंगलको राजा’’ भनेछ। केहीले पत्याएछन्’ आरजुले भनिन्, ‘तर एक दिन पानी परेछ। त्यसपछि त उसको रङ्ग पखालिएछ। त्यो त कुखुरा चोर स्याल भन्ने पोल खुलेछ। हो त्यस्ता स्यालको कुरा नपत्याउनुस।’

साथै उनले विपी काँग्रेसलाई आफूले नचिनेको बताइन्। ‘करुवाको नेता को हो ? मलाई पनि थाहा छैन। गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईं पत्याउने। पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन्। टिकटक बनाउँछन्’ उनले भनिन्, ‘भोलि यता बजेट आवश्यकता पर्दा कसले दिन्छ बजेट। अहिले भरखरै प्रधानमन्त्री देउवाले जिल्लामा ३१ करोडको बजेट पार्नुभाछ। करुवाले कति बजेट दिएको छ।’

३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै थपिन्, ‘जहाँ काँग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस्।’


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस