दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो
काठमाण्डौँः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आज आइतवारको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ।
मुम्बईमा भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हरायो। लखनउले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेट गुमाएर एक सय ८९ रन मात्रै बनाउन सक्यो।
दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए भने अक्षर पटेलले नटआउट ४२ रन बनाए। बलिङतर्फ लखनउका मोहसिन खानले चार विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले केएल राहुलको ७७ र दीपक हुडाको ५२ रनको मदतमा एक सय ९५ रन बनाएको थियो। बलिङतर्फ दिल्लीका शार्दुल ठाकुरले तीन विकेट लिए।
जितसँगै लखनउ १० खेलमा १४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली भने आठ अङ्कसहित छैटौँ स्थानमा छ।