सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिवंगत थरुहट योद्धा लाहुरामको त्यो अन्तरवार्ता, ‘विभेदले थिचिएको थरुहट सुतेको छैन’

२०७९ वैशाख १८, १०:२८

थरुहट आन्दोलनका अगुवा तथा थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको वैशाख ६ गते धनगढीस्थित एक अस्पतालमा उपचारक्रममा निधन भएको थियो।  आज वैशाख १८ गते उनको १३ औं पुन्यतिथि। धनगढी उपमहानगरपालिका–३  बड्हरा निवासी चौधरीलाई छ लेन सडकमा पैदल हिड्दै गरेको अवस्थामा बैशाख ३ गते साँझ पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। 

२०७२ ताका तराई आन्दोलनको रापले जलिरहेको थियो  कैलाली कञ्चनपुरसहितको भूगोललाई पहाडमा मिसाउने वा तराईमै मिसाउने आन्दोलन दन्केको थियो। कैलालीमा तराई भूगोलको थरुहट बनाउनुपर्ने मागसहितको आन्दोलनलाई थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले नेतृत्व गरेको थियो। भदौ ७ गते १ नाबलकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो। घटनाको अभियोगमा थाकस कैलाली सभापति लाहुराम चौधरीसहित २७ जना गिरफ्तारीमा परे। ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र डाँका चोरी मुद्धा चलाइयो।

२०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले थाकस सभापति चौधरीसहित १२ जनालाई जनही ३/३ वर्ष कैदपछि थुनामुक्त गर्‍याे। ११ जनालाई जन्म कैद र ३ जनाले सफाई पाए।  उच्च अदलतको २०७७ पुस २ गतेको फैसलाले पनि उनलाई सफाइ दिएको थियो।

कैदमुक्त भए लगत्तै उनै ६५ वर्षीया थाकस सभापति चौधरीसँग घटना पूर्व, जेल बसाई र अदालतको फैसलापछिको अवस्थालाई लिएर पत्रकार लखन चौधरीले अन्तरवार्ता लिएका थिए। त्यसताका उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

२०७२ भदौ ७ गते टीकापुरमा दोहोरो झडप हुँदै थियो। तपाई धनगढीमा आयोजित मोर्चाको नेतृत्व गर्दै हुनुन्थ्यो। त्यतिबेलाको अवस्थालाई कसरी स्मरण गर्नुहुन्छ ?
त्यति बेला थाकस कैलालीको सभापति म थिए। नयाँ संविधानमा आफ्नो हक अधिकार सुनिश्चित गराउन हामी पहिचान पक्षधरले थरुहट/थारुवान आन्दोलन गरिरहेका थियौं। जुन आन्दोलनको आहृवान थाकस केन्द्रबाटै भएको थियो। हामी पनि आन्दोलनमा उत्रियौं।

यसैबीच २०७२ भदौ ७ गतेका दिन दिउँसो २ देखि साढे २ बजेसम्मको अवधिमा टीकापुर घटना घट्यो। म स्वयंम धनगढीमा थिए। जिल्ला प्रशासन कार्यालय धनगढी अगाडी हाम्रो कोण सभा चलिरहेको थियो। त्यति बेलामा तत्कालीन सिडियो राजकुमार श्रेष्ठलाई फोन गरिरहेको थिए। त्यसैबेला वडा प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी उपरिक्षक मनोहर भट्टले मलाई भन्नु भयो कि, ‘लाहुराम जी तपाई यहाँको कार्यक्रम चाँडो सकाउनुस्, आजको अवस्था ठीक छैन’ भनेर जानुभयो। मलाई टीकापुरमा घटेको घटनावारे मलाई थाहा थिएन। एक जना मित्र आएर मेरो कानमा भने, ‘टीकापुरमा यस्तो–यस्तो भयो भनेर। त्यसपछिमा तुरुन्तै कोणसभा समापन गरेको थिए।

कोण सभाबाट फर्केर धनगढीको क्याम्पस चौक पुगेपछि सञ्चार माध्यमबाट सुन्यौ–यति, उति मान्छे मरे भनेर। त्यसपछि हामी हतास भर्यौ। वास्तवमा त्यो घटना अप्रत्यासित थियो। उत्तेजित हुल र प्रहरीको असावधानीले घटेको थियो। यसमा कुनै वाहृय प्रभाव थिएन। तर घटनामा संलग्न नभए पनि जो–जो आन्दोलनको अगुवाई गरेको थियो, उनीहरुकै नामावली बनाएर गिरफ्तार गरियो। राजनीतिक आन्दोलनको राजनीतिक घटना थियो। तर राज्यबाट दमन भयो। 

घटना घटेपछि तपाईले स्थानीय सञ्चार माध्यममा ‘मरता क्या नही कर्ता’ भनेर अन्तरवार्ता दिनुभयो। तपाईको त्यही भनाई नै गिरफ्तारीको कारण थियो ?
त्यतिबेला मैले भन्न खोजेको के थिए भने, हामी सदियौंदेखि हक अधिकारबाट वञ्चित, पिल्सिएको समुदायले अहिले आन्दोलन नगरे कहिले गर्ने भन्ने आशय थियो। सञ्चारमाध्यममा के पनि भनेको थिए भने, आन्दोलनको नैतिक जिम्मेवारी हाम्रो हो, तर सुरक्षाको जिम्मेवारी त सरकारकै थियो नि ? आन्दोलनको नैतिक जिम्मेवारी थियो, घटनाको जिम्मेवारी थिएन नि ? मान्छे मार्नलाई त आदेश दिएको थिएन नि ? घटना स्थलमा पनि थिएन। धनगढीमै थिए।

कैलालीका तत्कालीन प्रहरी नायव उपरिक्षक विश्वराज खड्काको सम्पर्कमा थिए। पटक–पटक भन्ने गर्थे– ‘केही त्यस्तो भए म जिल्ला प्रहरी कार्यालय आउँन तयार छु भनेर। तर उहाँहरु त्यस्तो केही छैन भन्नु हुन्थ्यो। पछि २४ गते विहान ८ बजे म नुहाइरहेको थिए। त्यसैबेला वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोहर भट्टको टोली आयो। उहाँ आएर सुनाउनु भयो–तपाईलाई गिरफ्तारीको आदेश छ’, त्यसपछि मैले थाहा पाए।
गिरफ्तारीपछि सरकारी वकिलको कार्यालयलाई पनि यही बयान मैले दिएको थिए।

४२ महिना थुनामै रहनु भयो। तपाईहरुमाथि ३/३ वटा मुद्धा लाग्यो। अदालतले दोषि ठहर गर्‍र्यो। ३ वर्ष कैद सुनायो। कैद भुक्तानपछि मुक्त हुनुभयो। यो अवधिलाई कसरी लिनुहुन्छ ?
गिरफ्तारीपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश भयो। कारागार चलान भएपछि राज्यकै कानूनलाई सम्मान गर्दै, कारागारको मर्यादामा रहेर बस्यौ। तथापि यो अवधीमा राजनीतिक परिवर्तन धेरै भयो । हामीले नचाहेको संविधान आयो। संघीय संरचना आयो।

यसैबीच हाम्रा कतिपय साथीहरु संविधान स्वीकारको हौवा फिजाए। निर्वाचनमा भाग लिए। निर्वाचनमा भाग नलिए हामी पछि पर्छौ भन्दै भाग लिएपछि हाम्रो आन्दोलन त्यतिबेला कमजोर बनेको हो। आन्दोलनलाई निष्कर्षमा पु¥याउनु थियो भने निरन्तरता जरुरी थियो। निर्वाचनलाई सशक्त रुपमा वहिष्कार गर्न सक्नु पनि पथ्र्यो। तर राज्यको दमनले सम्भव पनि भएन।

त्यतिबेला परस्पर विरोध थरुहट र अखण्ड सुदूरपश्चिम आन्दोलन पनि उत्कर्षमा थियो। लोकतान्त्रिक मुलुकमा राजनीतिक अधिकार प्राप्तीको लागि जसले पनि आन्दोलन गर्न पाउँछ। हामी सबैको लडाई राज्यसँग थियो। न कि एकअर्कासँग। हाम्रो असन्तुष्टी त्यति मात्रै हो। राज्यले हाम्रो माग सम्बोधन गर्नुको साटो झुठो मुद्दा लगाएर कैद गर्ने काम गर्‍याे । जबरजस्ती दोषी करार गर्‍याे। दमन गर्‍याे। यो दुखद कुरा हो।

३ वर्षको अवधिमा घटनावारे धेरै अनुसन्धान भयो। कानून अनुसार नै सर्वोच्च अदालतका पूर्व न्यायधिस गिरिशचन्द्र लाल नेतृत्वको टोलीले छानविन गरी प्रतिवेदन तयार गर्‍याे। तर विडम्वना प्रतिवेदन नै लुकाइयो। राज्यको साधनस्रोतबाट तयार पारिएको प्रतिवदेन लुकाएर नाटक मञ्चन गरियो। सरकारी ढुकुटी रित्याउने काम मात्रै भयो।

अदालतको फैसलालाई कसरी लिनुभयो ?
फागुन २२ गते जिल्ला अदालत कैलालीले फैसला सुनायो। जुन एकदमै स्वागत योग्य छ। हामी कानूनको सम्मान गर्छौ। अझैपनि हामीले संवैधानिक सुविधा उपभोग गर्ने बाटो बाँकी नै छ। चित्त नबुझेको अवस्थामा उच्च अदालत या सर्वोच्च अदालतमा जाने बाटो खुला छ।

जिल्ला अदालतको फैसालाले हाम्रो बाटोलाई फराकिलो बनाई दिएको छ। मलगायतलाई दोषी करार गर्दै ३ वर्ष सजाय सुनायो, भोलिका दिनमा सफाई पाउने आशा पनि हो। हामी न्यायको लागि अवश्य पनि उच्च निकायसम्म पुग्छौ। हामी बेकसुर मान्छे अदालतको फैसलाबाट दाग लागेको महसुस गरेका छौ। यसको लागि अन्तर्राष्ट्रिय न्यायलयसम्म जान सक्छौ। जान पनि जरुरी छ।

जेलमा छँदै थाकस कैलालीको सम्पन्न निर्वाचनबाट पुनः सभापतिमा निर्वाचित हुनुभयो। अब थाकस कसरी अगाडी बढ्छ ?
हामी जेल गयौं। सजाय भुक्तान गर्‍याैँ भन्दैमा हाम्रो विचार, आन्दोलन सकिने र छोडेको होइन। झन मजबुत भएको छ। हामी पहिलैदेखि भन्दै आएका छौं, थारु, मधेशी, जनजाति, दलितलगायत उपेक्षित वर्गलाई लत्याएर ल्याएको समृद्धि, शान्ति केवल भ्रम मात्रै हो। नक्कली हो। जससम्म यो देशमा सबै वर्ग समुदायको अधिकार सुनिश्चित हुन्दैन, तबसम्म समृद्धि हुन्दैन। हामी जेल गर्यौ भन्दैमा हामी डराएका छैनौ। हामी बुढो हुँला। मर्नेछौ।

तर हामीपछिको शेष हाम्रो सन्ततीले पक्कै पनि हाम्रो मुद्दा, अधिकारको लडाईलाई विर्सनेवाला छैनन्। अब सहेर, कसैले दबाउँदैमा हाम्रा सन्तान दबिनेवाला छैनन्। हामी पनि यो देशका नागरिक हौ। हाम्रो पनि अधिकार छ, भन्ने कुरा बुझिसकेका छन्। जुन कुराका हेक्का शासकहरुले राख्न जरुरी छ। हाम्रो आन्दोलन जारी छ। कुनै न कुनै दिन हाम्रो पहिचानको आन्दोलन उठ्छ उठ्छ।

अन्तमा, यदि वास्तवमा मुलुकमा समृद्धि र शान्ति कायम गर्ने हो भने, शासकहरु गम्भीर हुन जरुरी छ। हैन भने भोलिका दिनमा भयवह अवस्था सिर्जना हुन्दैन भन्न सकिन्न। अहिलेको शक्तिशाली सरकारले धेरै थोक गर्न सक्छ। सबै असन्तुष्ट पक्षको माग सम्बोधन गरेर मुलुकलाई दीगो समृद्धिको बाटोमा लैजान सक्छ। अन्यथा पूराना घाउहरु पुनः बझिने निश्चित छ।

कमेन्ट लोड गर्नुस