दार्चुलामा चुनावी र्यालीमा सहभागी महिलाको मृत्यु
दार्चुला: दार्चुलामा चुनावी र्यालीमा सहभागी एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर ३ गोगनेकी ५० वर्षीया पाना टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार एमालेका नेता कार्यकर्ता बाजागाजासहित नौगाड गाउँपालिकाको केन्द्रमा मनोनयन दर्ताका लागि गइरहेका बेला टमाटाको मृत्यु भएको हो। छलिया बाजामा नाच्दै गरेकी टमटा एक्कासी ढलेको र उनको नौगाड–२ सुन्डमुन्डमा मृत्यु भएको बताइएको हो।
स्वास्थ्यचौकीमा पुग्दा उनको मृत्यु भइसकेको खार स्वास्थ्यचौकीका इन्चार्ज गोविन्द ठगुन्नाले बताए।