सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमरगढीको मेयरका लागि ३ जना मैदानमा, एमाले र नेकपा (एस)बाट को ? 

२०७९ वैशाख १०, ०४:२७ आशिष मल्ल

धनगढी: प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाको सदरमुकाम रहेको अमरगढीमा यसपालिका चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। काँग्रेसको किल्ला नै मानिने अमरगढी नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालले बाजी मारेको थियो। एमालेबाट विशेश्वरप्रसाद ओझा (विपीन) नगर प्रमुखमा विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई झिनो मत १ सय २८ मतले हराएका थिए।

यसपालि भने नगरपालिकामा एमाले फिक्का पर्ने जस्तै छ। उतिबेला काँग्रेसको सहयोगले जितेको एमालेले यसपाला हालसम्म उम्मेदवारको टुंगो समेत लगाएको छैन। उसो त नेपाली काँग्रेस पनि जिल्लामा २ फ्याकमा विभाजित छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूह काँग्रेसको १४औं अधिवेशनपछि झनै आक्रोशित छ। देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गरेको आरोप उक्त पक्षले लगाउँदै आएको छ। 

मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँड गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिएको थियो। उसले दिएको ‘डेडलाइन’ आज १० गते समाप्त भएको छ। त्योसँगै उक्त समूह नेपाली काँग्रेस (विपी)बाट करुवा चुनाव चिह्नमा लड्ने पक्का भएको छ। आज(शनिवार) साँझ बैठक बसेर आइतबार बिहानसम्म ७ ओटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउने सोही समूहकी नेतृ कमला विष्टले बताइन्। 

२०७४ मा हार व्यहोरेको नेपाली काँग्रेसले भने शनिवार मात्रै नगरप्रमुखका लागि तारक बुढाऐरलाई टिकट दिएको छ। टिकटबारे जिल्ला सभापति भीमबहादुर साउदले भोलि(आइतबार) बिहान जानकारी दिने भनेता पनि बुढाऐरले भने टिकट पाएकोे पुष्टि गरेका छन्। ‘मैले टिकट पाइसके, अब चुनावी प्रचारप्रसार थाल्छु’ उनले भने। 

को हुन् तारक बुढाऐर ? 
अमरगढी नगरपालिका घर भएका बुढाऐर पुराना नेता मानिन्छन्। ३ पटकसम्म महाधिवेशन प्रतिनिधि भएका उनले गएको स्थानीय निर्वाचनको चुनावमा समेत मेयरका पदका लागि इच्छा व्यक्त गरेका थिए। ‘प्रजातन्तका लागि २०४६ सालमा भएको आन्दोलनमा यहाँ २ जनाले मात्रै गिरफ्तारी दिएका थिए। एउटा महेन्द्र चन्द र अर्को म’ उनले भने, ‘त्यतिबेला देखि नै म सक्रिय रुपमा पार्टीमा लागेको छु। यसपटक टिक पाए। नगरप्रमुख बनेर अमरगढीका सम्पूर्ण समस्या हल गर्छु।’

उता, नेपाली काँग्रेसबाटै टिकट पाउने आशामा घरदैलौ अभियान थालेका हरिप्रसाद भट्ट भने नेपाली काँग्रेस विपीबाट मेयरमा लड्ने भएका छन्। टिकट पाउने पक्कापक्कीका साथ १ महिना अघिबाट ‘हरि भट्ट जिताउ अभियान’ थालेका उनले आफूमाथि अन्याय भएको बताएका छन्। ‘पार्टीप्रति गरेको योगदानको कदर नभएपछि काँग्रेस विपीको चुनाव चिह्न करुवाबाट मेयरमा लडेर जित्छु’  उनले भने। 

को हुन् हरिप्रसाद भट्ट ? 
हरि भट्ट पेशाले अधिवक्ता हुन्। ३ पटक २०६२, ०६७ र ७२ मा लोकप्रिय मत ल्याएर महाधिवेशन महासिमितमा विजयी भएका भटट्को सक्रिय राजनीति २०४६ सालबाट सुरु भएको हो। ‘विद्यार्थी राजनीति गरेर २०५३ सालमा क्षेत्रिय प्रतिनिधि भए। २०५७ सालमा नगर सभापति बनेको थिए’ उनले भने, ‘त्यसपछि ६२ महाधिवेशन प्रतिनिधि, ६७ सालमा महासमिति सदस्य र ७२ सालमा फेरि महाधिवेशन प्रतिनिधि भए।’ जिल्लामा रहेका दुई वटै गुटको अन्त्य गर्न ‘नेपाली कांग्रेस सुदृढीकरण अभियान’ थालेका उनीसँग आफ्नै किसिमका कार्यकर्ताको सहयोग छ। 

उनी गत निर्वाचनामा पनि काँग्रेसबाट मेयरका लागि दावेदार थिए। तर यसपालि जस्तै अन्तिम समयमा उनले अमरगढीका लागि टिकट पाएका थिएनन्। टिकट नपाएपछि उनी डडेल्धुरा काँग्रेसको रुष्ट पक्षबाट चुनाव लड्ने भएका हुन्।

यस्तै, मेयरको दौडमा लागेका नेकपा माओवादी केन्द्रका नेता लक्ष्मण सिंहले पनि टिकट पाएका छन्। डडेल्धुरामा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल नगरि मित्रवद् प्रतिस्पर्धा गर्ने सहमति भएपछि माओवादीले सिंहलाई उम्मेदवार बनाएको हो। ‘मैले हिजो नै टिकट पाइसके। अब चुनावी अभियान थालेर भेटघाट कार्यक्रम गर्छु’ उनले भने। 

को हुन् लक्ष्मण सिंह ? 
डडेल्धुराबाट जनता समाजवादी पार्टी, नेपाल(जसपा) का केन्द्रीय सदस्य रहेका उनी हालै माओवादीमा प्रवेश गरेका थिए। तत्कालीन उपक्षेत्रिय अस्पतालका अध्यक्ष समेत रहेका उनी नगरपालिकामा प्रख्यात व्यक्ति हुन्। सिंह सुरुमा नेपाली काँग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए।

नेकपा एमाले जस्तै नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारको टुंगो लगाइसकेको छैन। अमरगढी नगरपालिकामा नेकपा (एस)बाट नगरप्रमुखमा ३ जनाको नाम सिफारिस भएको छ। हालकी नगर उपप्रमुख संगिता भण्डारी, अधिवक्ता विष्णु भट्ट र नेता भीम कैनी सिफारिस भएको नेकपा एस डडेल्धुराका प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले बताए। यस्तै उपप्रमुखमा विरेन्द्र बस्नेत, लक्ष्मी गैराल, बसन्त भण्डारी र तीर्थ भण्डारीलगायतका नाम सिफारिस भएको उनले बताए। 

नेकपा एमाले डडेल्धुराले भने मेयरका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको छ। मेयर पदमा हालका मेयर विशेश्वर प्रसाद ओझा (विपीन), जिल्ला अध्यक्ष प्रकाश साउद, प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थी, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकारको नाम सिफारिस गरेको छ। यस्तै जिल्लाका उपसचिव अञ्जु गैरे, ज्ञानेन्द्र जोशी, भीम रोकाया र जीत ताम्राकारको नाम सिफारिस भएको छ।

यस्तै, उपप्रमुखमा जिल्ला कमिटी सदस्य इन्दिरा ताम्राकार, जिल्ला कमिटी सदस्य कलावती कठायत र अनेमा संघकी जिल्ला सचिव कुमारी फुल चौधरीको नाम जिल्ला कमिटीको बैठकले प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा एमाले डडेल्धुराले जनाएको छ।


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस