सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुम्लामा कृषि गणनामा कर्मचारी खटिए

२०७९ वैशाख ९, ०७:२३ रासस

खलङ्गा: जुम्लाका आठवटै स्थानीय तहमा कृषि गणनाका लागि ३८ कर्मचारी खटिएका छन्। जिल्लामा ३० गणक र आठ सुपरिवेक्षक खटिएको जिल्ला कृषि गणना कार्यालय जुम्लाका कृषि गणना अधिकृत लक्ष्मण कँडेलले बताए। 

उनले भने, “गणकले जिल्लाका ७७ गणना क्षेत्रबाट कृषि गणना गर्नेछन्। करिब तीनदेखि चार गणकलाई एक सुपरिवेक्षकले ‘गाइड’ गर्नेछन्। एक सुपरिवेक्षकले एक पालिकाका पूरै र अन्य पालिकाका केही गणना क्षेत्रमा पनि निरीक्षण गर्नुपर्ने र विगतमा भन्दा यो पटकको कृषि गणना अलिक फरक हुनेछ।” 

जुुम्लामा साधारणतया एक गणना क्षेत्रमा २५ हाराहारीमा गणकले विवरण भर्नुपर्नेछ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ। तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीका १० स्थानमा कृषि गणना गरिनेछ।

सिञ्जा गाउँपालिका र पातारासी गाउँपालिकाका नौ स्थानमा गणना गरिनेछ। सबैभन्दा कम सात स्थानमा गुठीचौर गाउँपालिकामा कृषि गणना हुनेछ। आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिनेछ। गणकले कृषकका भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, बीउको प्रयोगबारे तथ्याङ्क लिने छन्।

गणकले कृषि सामग्री र औजारको उपयोग, पशुपक्षीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायत बारे तथ्याङ्क सङ्कलन गर्नेछन्। 

कमेन्ट लोड गर्नुस