बेलायतका प्रधानमन्त्री भारतमा
अहमदावाद : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेका भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो। उनी बिहबार बिहान गुजरात आएका र उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ।
गुजरात भारतीय मूलका बेलायती नागरिकहरुमध्ये करिब आधाजति नागरिकहरुको जन्मस्थल हो। गुजरातमा उनले व्यापारिक समुदायका नेताहरुसँगको भेटघाटका क्रममा भारत र बेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्ने बताइएको छ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने जनाइएको छ। यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो।
भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो। यस पटक पनि उनले भारतमा रहँदा यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिपक्षा र जनता जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम रहेको छ।
साथै यस भ्रमणका क्रममा उनीहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने भएको बताइएको छ। बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ। प्रधानमन्त्री जोनसन हालैमात्र युक्रेनको राजधानी किभ पुगेका थिए।