सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्यो प्रिय वैशाख

२०७९ वैशाख ३, ०४:४२ नारायण अवस्थी

चैतपछि वैशाख लाग्नुका अनगिन्ती खुसीहरू हुने गर्थे हामीसँग। वैशाख लाग्नु हाम्रा लागि खुसी हुनुपर्ने पहिलो कारण विहान ७ बजे स्कुल लाग्नु थियो। ७ वजे स्कुल लाग्दा १२ बजे विदा भइसक्थ्यो। चाँडै छुट्टी हुने र कम मिनेटका पिरियड पढ्नुपर्ने कुराले हामी चैतभर नै रमाई रमाई स्कुल जाने गर्दथ्यौँ।

वैशाखमा लाग्ने प्रभातकालिन स्कुलले हामीलाई स्कुल बाहिर खेल्ने, सोच्ने, वनपाँखा डुल्ने अधिकतम समय दिन्थ्यो। साथीहरूसँग उन्मुक्त भएर नदीमा नथाकुन्जेलसम्म पौडी खेल्न पाउनुको मजा विछट्टै हुने गर्दथ्यो। त्यो अनुपम आनन्द हामीलाई वैशाखले प्रदान गर्दथ्यो। त्यसैले हामी वैशाख महिनाको व्यग्र प्रतिक्षामा हुने गर्दथ्यौँ। त्यो तिव्र प्रतिक्षाको क्षण वैशाख १ गते आएपछि समाप्त हुने गर्दथ्यो।

वैशाख महिनाको पहिलो दिन नयाँ वर्षको दिन हाम्रोतिर ‘विशु’ तिहार भनेर मनाउने गरिन्छ। मीठा खाने कुरा खान पाइनेभन्दा पनि भाउजु नाता पर्नेहरूलाई सिस्नो लगाउन पाइने कुराले हामी उद्वेलित हुने गर्दथ्यौँ। सिस्नोको झाडी कहाँ कस्तो अवस्थामा छ ? त्यसको रेकी हामीले चैत मसान्तमा गरिसकेका हुन्थ्यौँ। ‘विशु’ को उपहार हाम्रा लागि सिस्नुले डाम्नु र डमाई पाउनु हुने गर्दथ्यो।

भाउजुहरूको फेला पर्नबाट बच्दै सिस्नुपानी लागाउन सक्नु हाम्रा लागि ठुलो युद्ध नै जिते जस्तो खुसी दिने क्षण हुने गर्थ्यो। तर जहिल्यै हामी मात्रै विजेता हुँदैनथ्यौँ। भाउजुहरूको प्लाटुनको घेरामा पर्यो भने सिस्नोपानीको चुटाईले आँखाका परेलासमेत बच्न पाउदैनथे। तर हामीहरू भाउजुहरूको आक्रमण या प्रर्तिआक्रमणबाट बच्न सचेत भएर आफ्ना पाइला चाल्ने गर्दथ्यौँ। 

वैशाख १ गते भाउजुहरूको सिस्नोबाट प्राप्त हुने रामधुलाईको विषय महिनाभर सबैका लागि चर्चाको विषय हुने गर्दथ्यो। जवान भाउजु र देवरबीच हुने सिस्नोपानीको घम्साघम्सीले साना नानीहरूलाई रुवाउथ्यो, वृद्धवृद्धाहरूलाई सायद दिक्दार लगाउथ्यो होला। तर हाम्रा लागि भने सिस्नु पानीको युद्धले जीवन थप रोमाञ्चक छ भन्ने पाठ सिकाउथ्यो।

वैशाख १ गतेको सिस्नु लागाउने समय सीमा समाप्त भएपछि गाउँमा पिङ हाल्ने गरिन्थ्यो। अचेल के गरिन्छ थाहा भएन। तर माओवादी द्वन्दको असर सुदूर गाउँमा नपर्दासम्म हरेक वर्ष गाउँ गाउँमा वैशाख १ गते पिङ हाल्ने गरिन्थ्यो। गाउँमा घरघरबाट बाबियो संकलन गरेर पिङ हाल्ने डोरी बाट्ने काम १ गते विहान नै गरिन्थ्यो। 

गाउँको उपयुक्त र सुरक्षित कुनै रुखको हाँगामा पिङ हालेर खेल्नु सबै गाउँमा सामान्य थियो। गाउँको पिङमा मच्चिएर खेल्न पाउने अवसर वैशाख महिनाले नै प्रदान गर्दथ्यो। त्यसैले वैशाख हाम्रा लागि विशेष महिना हुने  गर्दथ्यो। गहुँ नपाक्दासम्म बढीमा एक हप्ता निर्धक्क पिङ खेल्न पाए पनि पछि डोरी टुट्ने र बच्चाहरूले घरको काममा नसघाउने बाहनामा कुनै न कुनै साथीको बाआमा या दाजु आएर पिङ काट्ने काम हुन्थ्यो। र, हाम्रो एक रमाइलो गर्ने अवसर प्रदान गर्ने पिङ धुँजाधुँजा भएको हामीले टुलुटुलु हर्नु पर्दाको क्षणको पीडा हामीलाई मात्रै हुनथ्यो।

पिङ छिनाल्ने व्यक्ति विजय प्राप्त गरेको योद्धा झै हामीलाई थप थर्काएर घर जाने गर्दथे। पिङ काटेर घर गएपछि हामी रिसाएर पिङ काट्न आएको गाउँलेको नक्कल गरेर गलल्ल हाँस्दै अर्को कामतिर लाग्ने गर्दथ्यौँ। मनोरञ्जनको माध्यम पिङ खोसिदा पनि हामी हाँसेरै त्यो पीडाको सामना गर्दथ्यौँ।

वैशाखले नयाँ कापीकिताब पनि दिन्थ्यो। नयाँ कक्षामा केही नयाँ साथी थपिन्थे भने नयाँ बेञ्चका साथ नयाँ शिक्षक पनि कक्षामा पढाउन आउथे। नयाँ झोला, कलम अनि सक्नेले नयाँ स्कुल ड्रेस पनि सिलाउथे। यी नयाँ कुराबाट प्राप्त हुने खुसीको आयतन मापन गर्न मेरा शब्द असर्मथ छन्।

वैशाखमा स्कुलबाट घर फर्किने समय हाम्रा लागि निकै रोमाञ्चक हुने गर्दथ्यो। बाटोमा पर्ने मेलापाखामा पाकेका ऐँसेलु र काफल खादै घर फर्किनु वैशाख महिनाभरको दैनिकी नै हुने गर्दथ्यो। हामी स्कुलबाट घर फर्किदा बाटोमा पर्ने वन क्षेत्रमा काफल र ऐँसेलु मनग्गे पाइन्छन्। कोटेली गाड वारी तरेपछि पाइने ऐँसेलु खादै हामी उकालो लाग्दथ्यो। हाम्रो टिफिन त्यही ऐँसेलु र काफल हुने गर्दथ्यो। दतिवन भन्ने विरुवाको पातमा राखेर घाम नपरेको झाङबाट टिपेर खाएको ऐँसेलुको बेजोड स्वाद सम्झिदा अहिले पनि मुखमा पानी भरिएर आउने गर्दछ। दतिवनको पातमा राखेर खाएको सुनौला र रसिला ऐँसेलुको स्वादका कारण हाम्रा लागि वैशाख प्रिय र स्वर्गीय आनन्द दिने महिना थियो।

हाम्रो समूहमा त्यो समयमा विद्यार्थीको संख्या त्यति हुँदैनथ्यो। मुस्किलले एक दर्जन विद्यार्थी थियौँ हामी एकै उमेरका, एकै बाटो प्रयोग गरेर स्कुल जाने। त्यो समूहमा हामी तीन गाउँका विद्यार्थी हुने गर्दथ्यौँ। हम्रो गाउँ सबैभन्दा नजिक छ हामी बढ्ने स्कुलबाट। हामी त्यसैले ऐंसेलु र काफल खान बढी समय पाउने गर्दथ्यौँ। हाम्रै गाउँको पश्चिमतर्फको मेलामा मनग्गे काफलहरू हुने गर्दथे। ती काफलका रुखहरू निजी जग्गामा भए पनि खान कसैले रोकटोक गर्दैनथे।

साथीहरूसँग गफिदै काफलको रुखको कसैले चढ्न नसकेको हाँगोमा बसेर पाकेर गुलियो र रसिलो भएको काफलको रसस्वादन गर्ने अवसर हरेक वर्ष वैशाखले दिने गर्दथ्यो। त्यसैले यो महिना हाम्रा लागि निकै प्रिय थियो। यो महिनाले दिने खुसी अतुलनीय हुने गर्दथ्यो।

चैतमा तयार गरिएको गुड(सख्खर) र खुदोसँग विहान स्कुल जान पूर्व रोटी खान पाउनुको आनन्द अहिले सहरको पिज्जाले दिन सक्दैन सायद। तर आमाले एकाविहानै रोटी तयार गरेर दही र गुड कचौरामा राखेर स्कुल जान ओछ्यानबाट हकार्दै उठाएको सुन्न पनि वैशाख नै आउनुपर्थ्यो। विहानको त्यो नास्तासँगै आमाले या बुवाले हकार्दै मिठो निन्द्रा अवरुद्ध गर्दा पनि कत्ति रिस नउठ्ने हामीलाई बनाउन सक्ने समर्थ्य वैशाखमा थियो। त्यसैले वैशाख हाम्रा लागि वर्षभरीकै सबैभन्दा प्रिय महिना हुने थियो।

कोइलीको भाखा सुन्न, न्याउलीको विरह सुन्न, र पंक्षीबाट बचेर उडेको देख्ने अवसर वैशाखले दिने गर्दथ्यो। रुखको छाँयामा सुस्ताउन, वनका गुएली फुलेको हेर्न, मछाइना पाकेर चराहरूले खाएरको हेर्न, पहाडी वन पाँखा विस्तारै हरियालीमा रुपान्तरण भएको हेर्न वैशाखमै सम्भव हुन्छ। त्यसैले हामीमाझ वैशाख आत्मिय भएर आउथ्यो थप आत्मिय भएर विदा हुन्थ्यो। हामीलाई सानोमा हरेक वैशाख अनुपम लाग्थ्यो। अतुलनीय लाग्थ्यो।

गहुँ भित्राउन आमाबासँगै खेत खलिहान गर्नुपर्दाको दुःखमा पनि वर्षभरि रोटी खान पाउने आशाले खुशी बनाउन वैशाखले मात्रै सक्थ्यो। गहुँ भित्राएर खाली भएका खेतहरू हाम्रा लागि खेल मैदान भइदिन्थे। खेतका गरा र कान्ला पार गर्दै खेलिने अनेकन खेलहरूले हाम्रा पाखुरा र पैतला बलिया बनाउथ्यो। त्यसैले पनि वैशाख हाम्रा लागि प्रिय हुने गर्थ्यो।

जाडो पनि नहुने, गर्मी पनि नहुने, दिनभर थोरै काम गर्दा र धेरै खेल्दा पनि हुने, स्कुलमा पढाइको पेलाई नहुने भएर पनि वैशाख प्रिय थियो हाम्रा लागि। वैशाखमा जसरी विरुवामा पालुवा आउथ्यो, त्यसैगरी हामीमा पनि उमङ्ग लिएर आउथ्यो। वैशाखका खुसीहरूले हामीलाई वर्षभरी खुशी रहन उर्जा प्रदान गर्दथ्यो। त्यसैले हामीलाई वैशाख आउनुले वैंश आएको अनुभूति दिन्थ्यो। वैशाखले अर्को वैशाखसम्म बाच्न अन्न दिएर जान्थ्यो, अन्न रोपेर जान्थ्यो। त्यसैले हामी किसानका सन्तानका लागि वैशाख खास भएर आउथ्यो, खास भएर जान्थ्यो।


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस