सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कागती साह्रै महंगोः दानाको २० रुपैयाँ, किलोको ५ सय

२०७९ वैशाख १, ०६:०५ कमल सावद

धनगढीः धनगढीको सबैभन्दा ठूलो थोक तरकारी बजार दक्षिण कालीमा बिहिवार कागती थिएन। त्यहाँ मात्रै होइन, बिहिवार दिउँसो तरकारी बजारका कुनै पनि व्यवसायीसँग एक किलोग्रामसम्म कागतीको मौज्दात थिएन। 

भारतीय बजारबाट आयात हुने कागतीको मूल्य आकाशीय पछि व्यापारीहरुले गर्मीका लागि आवश्यक कागती पाइरहेका छैनन्। धनगढीको दक्षिणकाली मार्ग तरकारी बजारका व्यापारी सन्जित शाह भन्छन्, ‘भारतबाट कागती नआएको धेरै भैसक्यो। तर एकजना साथीको आएको थियो। उहाँले ५ सय किलोमा बिक्री गर्नुभयो। पहिले किलोको एक/डेढ सय थियो।’ महंगीका कारण भारतबाट कागती आयात हुनै छाडेको व्यापारीहरुले बताएका छन्। भारतमा कागतीको मूल्य वृद्धि भएपछि अहिले धनगढीका तरकारी पसलमा एक दाना कागतीको मूल्य २० रुपैयाँ पुगेको छ। १ किलोग्रामको मूल्य भने झण्डै पाँच सय पुगेको छ। 

स्थानीय कागतीको मूल्य कम रहेको त्रिनगर हाटबजारका अध्यक्ष भवानसिंह चैसिरले बताए। तर स्थानीय कागतीको अभाव पनि रहेको उनले बताए। भारतीय बजारबाट आयात गरिने कागतीसँग अन्य तरकारीको मूल्य पनि बढेको अध्यक्ष चैसिरले बताउका छन्।  

भारतबाट आयात हुने प्याज, आलु र टमाटरको मूल्य बढेको हो। भारतीय आलु ५० किलोको मूल्य एक हजार एक सय पुगेको छ। स्थानीय किसानले उत्पादन गरेको काउलीको पनि धनगढीमा अभाव छ। भारतबाट आयात गरिएको काउलीको मूल्य एक सय रुपैयाँ प्रतिकिलो पुगेको छ। यस्तै बोडी प्रतिकिलो २ सय रुपैयाँ पुगेको छ। 

तर स्थानीय किसानले उत्पादन गरेका तरकारीको मूल्य भने ह्वात्तै घटेको छ। लौकी, फर्सी र खुसार्नीको मूल्य घटेको हो। ६० रुपैयाँ प्रतिकिलोमा कारोबार हुँदै आएको लौकीको मूल्य ३० रुपैयाँ पुगेको छ। ४० रुपैयाँ किलो पर्नेे फर्सी २५ रुपैँयामा कारोबार हुँदैछ। त्यस्तै एक सय ४० रुपैयाँमा कारोबार हुँदै आएको हरियो खुसार्नी ९० रुपैयाँमा कारोबार भइरहेको छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस