डलर खाता खोल्न अर्थमन्त्रीको आग्रह
धनगढीः अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए।
‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस्। बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले भने, ‘६, ७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ। राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदनअनुसार ९ अर्ब ५८ करोड डलर छ, पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ।’
विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए। डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनको भनाइ छ। नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिनेबारे छलफल भै रहेको र त्यसले एनआरएनएलाई पनि सहज हुने पनि मन्त्री शर्माले बताए।