सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सहिदगेट–राजघाट जोड्ने सडक निर्माणको काम सुस्त गतिमा, स्थानीय हैरान

२०७८ चैत्र ३०, ०३:५९ विन्दु चन्द

धनगढी: धनगढी उपमहानगरपालिका र एड्भेन्चर निर्माण कम्पनीबीच सहिदगेट–राजघाट सडक निर्माणको ठेक्का सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार सडक निर्माणको ठेक्का समय सकिन ३ महिना मात्रै बाँकी छ। तीन करोड ४७ लाखमा २०७७ असार १४ मा सम्झौता भएको उक्त सडकको भौतिक प्रगति भने २५ प्रतिशत मात्र भएको छ।  सडक निर्माणको समयअवधि सकिन ३ महिना मात्र बाँकी रहेका बेला ७५ प्रतिशत काम भने बाँकी नै छ। 

उक्त सडक सुस्त गतिमा निर्माण हुँदा स्थानीयलाई सास्ती भइरहेको छ। उक्त सडकमा आवतजावत गर्नै मुस्किल भइरहेको धनगढीका दिपक जोशीले बताए। ‘यो सडकमा हिँड्नै समस्या भइरहेको छ। साँघुरो सडक छ। साना ठुला गाडीहरु यो सडकमा हिँड्छन्। साइड दिनै पाइँदैन्। झन यसमा निर्माण सामग्री राखेर समस्या भएको छ’ उनले भने। ठेकेदारको लापरबाही र उपमहानगरको बेवास्ताका कारण सास्ती भइरहेको उनको गुनासो छ। 

अहिले धनगढी र कञ्चनपुरको राजघाट जोड्ने उक्त सडकको काम ठप्प छ। विगत एक महिनादेखि निर्माणको काम ठप्प रहेको स्थानीय शिवराज पाण्डेले बताए। सडकको दुराअवस्थाका कारण आवतजावतमा सास्ती भइरहेको उनको गुनासो छ। ‘यो सडक आएर धेरै समस्या भइरहेको छ। यो भन्दा त बरु सडकै नभएको भए पनि हुन्थ्यो। कालोपत्रे सडक भत्काएर झन जोखिमपूर्ण बनाइदियो’ उनले भने, ‘नाली बनायो तर सडकभन्दा उचाईमा। यसले घरको पानी निकास हुने ठाउँ पनि रहेन। अब झन डुबानको समस्या हुनेभयो। जिम्मेवारी निकायको बेवास्ताका कारण हामीले दुःख झेल्नु परिरहेको छ।’ 

सडकको नाली निर्माणको काम पनि पूरा भएको छैन। एक दशमलव २ किलोमिटर  सडकमा निर्माण सामग्री अलपत्र छोडिएपछि दुर्घटनाको जोखिम समेत छ। निर्माण कम्पनीको लापरबाही र उपमहानगरको बेवास्ताका कारण स्थानीयले दुःख पाएको स्थानीय थानबहादुर महराले बताए। 

उक्त सडकमा पुरानो कालोपत्रे भत्काइएको छ। साँघुरो सडकमा निर्माण सामग्री थुपारिएका छन्। सोही कारणले स्थानीयलाई बढी सास्ती भएको हो। सडकमा उड्ने धुलोका कारणले पनि सडक आसपास बस्ने नागरिक हैरान भएको स्थानीय हरिसिंह विष्टले बताउँछन्। ‘धुलोले घरमा बस्नै मिल्दैन। न निर्माण छिटो हुन्छ न त पानी हाल्छन्। धेरै सास्ती भइरहेको छ’ उनले भने। 

सुदूरपश्चिम सरकारको समपुरक अनुदानमा धनगढी उपमहानगरपालिकाले सडक निर्माणको ठेक्का गरेको हो। सडक निर्माणको समय पूरा हुन तीन महिना मात्र बाँकी रहेपनि भौतिक प्रगति भने २५ प्रतिशत मात्र पूरा भएको छ।

अहिले नाली निर्माणको काम भइरहेको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले बताए। उनले सुस्त गतिमा काम भइरहेकाले असार मसान्तमा निर्माण सम्पन्न हुनेमा आशंका रहेको बताए। ‘उपमहानगरपालिकामा दर्ता भएका गुनासा अनुसार हामीले निर्माण व्यवसायीलाई पत्राचार गरेका छौँ। २ गतेबाट काम गर्ने भनेको छ। सुस्त गतिमा काम भइरहेको छ।’

निर्माण कम्पनीले भने उक्त सडक निर्माणका लागि ६६ लाख ९० हजार भुक्तानी दिइसकेको छ। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस