सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सव र सांकेतिक माला आन्दोलन

२०७५ माघ २१, १०:५५ नवराज पनेरु

महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै सांकेतिक माला आन्दोलन सुरु भएको थियो। कैलाली उद्योग वाणिज्य संघको आयोजना हुने सुदूरपश्चिम महोत्सव मार्फत माला लगाएर सुदूरपश्चिमवासीले विकास माग्ने परिपाटी सुरुवात भयो। यो बर्षपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएपनि काम विशेषले प्रधानमन्त्री नआउने भएपछि अव मुख्यमन्त्रीलाई माला आन्दोलनमा सरिक गराउने तयारी भईरहेको छ। सोमवारदेखि सुरु हुने सुदूरपीश्चम महोत्सवसंगै सांकेतिक माला आन्दोलन सुरु भएको पनि १३ बर्ष पुगेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिमवासीको गह्रुँगो माला पहिरने १३ औँ नेता हुने तयारीमा छन्। यसअघि पुर्व प्रधानमन्त्री देउवासंगै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, एमाले नेता भीम रावल, नारदमुनी राना लगायतले सुदूरपश्चिमबासीले लगाएको गह्रुँगो माला पहिरिसकेका छन्।
गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा विकास गरिनुपर्ने, प्रदेश नम्वर ७ मा उद्योग स्थापना प्रोत्साहन स्वरुप १० वर्षसम्म ट्याक्स फ्री जोन घोषणा गरिनु पर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्दै वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने, विशेष औद्योगिक क्षेत्रको स्थापना र विशेष औद्योगिक प्याकेजको ब्यबस्था गरिनुपर्ने, प्रदर्शनीस्थलको निर्माण गरिनुपर्ने, अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण गरिनुपर्ने, प्रदेश नं. ७ लाई चीनसँग जोड्ने नाका खुलाउनुपर्ने, पश्चिम सेती जलविद्युत आयोजना निर्माणको शिघ्र कार्यान्वयन र प्रदेश नं. ७ लाई लोडसेडिङमुक्त गरिनुपर्ने, प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने लगायतका मागहरु मला आन्दोलनबाट हुँदै आएका छन्। 
कृषि विश्वविद्यालयको स्थापना गरिनुपर्ने, प्रदेश सभा सम्मेलनगृहको स्थापना गरिनुपर्ने, प्रदेश सांस्कृतिक संग्रहालय निर्माण गरिनुपर्ने, चिसापानीदेखि गड्डाचौकी सम्म वन जङगल नरहेका पुराना बजारहरुको जग्गा दर्ता गर्नुपर्ने, सूचना प्रविधि क्षेत्रको स्थापना गरिनुपर्ने, . दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको शिघ्र कार्यान्वयन गरिनुपर्ने, सेती अञ्चल अस्पताललाई सुविधासम्पन्न क्षेत्रीय अस्पतालको रुपमा विकास गरिनुपर्ने, गेटा विमानस्थल धावनमार्ग कालो पत्रे, अप्टिकल फाइबर विस्तार, सुदूरपश्चिमालञ्चल विश्वविद्यालय स्थापना, छैटौ राष्टिय खेलकुद आयोजना तथा रंगशाला निर्माण, आईसीयु स्थापना, दुग्ध प्रशोधन केन्द्रको निर्माण पनि माला आन्दोलन मार्फत माग गरिएको थियो। यी मध्ये केहि मागहरु संवोधन भए, केहि संवोधनको क्रममा छन् भने केहि संवोधन भएका छैनन्। केहि माग समय अनुसार आँफै पुरा भए। 
महोत्सवको १३ औँ सस्करणमा मुख्यमन्त्रीलाई ७ किलोको माला
सुदूरपश्चिम महोत्सवको १३ औँ सस्करणमा मुख्यमन्त्रीलाई ७ किलोको माला लगाउने तयारी भईरहेको छ। पहिले सुदूरपश्चिमको विकासका लागि केन्द्रलाई ताक्नुपर्ने बाध्यता थियो अव भने सुदूरपश्चिमसंगै ८८ वटा स्थानीय र एउटा प्रदेश सरकार छ। दुवैको चाहना भए सुदूरपश्चिमलाई समृद्धिको मार्ग तय गर्न ठुलै मुस्किल हुने देखिएको छैन्। तर त्यस्मा नीजि क्षेत्रको दवाव हुने अपरिहार्य हो। त्यसैले सुदूरपश्चिम महोत्सव मार्फत कैलाली उद्योग वाािण्ज्य संघले यो बर्ष प्रदेशका पहिला मुख्यमन्त्रीलाई गह्रुँगो माला पहिर्याउने तयारी भईरहेको छ। ७ किलोको माला लगाएसंगै उद्योग वाणिज्य संघले अव नयाँ शैलीमा सालिन आन्दोलनको सुरवात गर्ने उद्योग वाणिज्य संघ कैलालीका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए। ७ किलोको माला नै ७ बुँदे मागलाई पुरा गराउन दवाव दिने र प्रदेश सरकारले पुरा गर्न चाँसो नदिए उद्योग वाणिज्य संघले सालिन आन्दोलन मार्फत दवाव दिने उनले बताए। 
यस्ता छन् ७ बुँदे माग
१) प्रदर्शनी स्थलको निर्माण
२) सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न क्षेत्रीय अस्पतालको रुपमा विकास गरिनुपर्ने
३) गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको विस्तार गर्दै बैकल्पीक अन्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने
४) गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाका बनाउनपर्ने र चिनसंग जोड्ने नाका स्थापना
५) विशेष औद्योगीक क्षेत्रको स्थापना
६) १० बर्षसम्म ट्याक्स फ्रि जोन घोषणा गरिनुपर्ने
७) प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस