भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार
भक्तपुर: नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ। मेलाको पाँचौँ दिनमा एक करोड ५० लाखको कारोबार भएको छ। मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए। दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ।
मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिए। मेलामा विद्यार्थीलाई ४० र अन्यलाई ५० प्रवेश शुल्क निर्धारण गरिएको छ।
यही चैत २४ देखि सुरु भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्ने छ। मेलामा २०० भन्दा बढी कक्ष राखिएका छन्। मेलामा आठ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले मेला आयोजना गरेको हो।