सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर किन बन्ने ? भ्रष्टाचार गर्न कि विकास गर्न ?

२०७८ चैत्र २७, ०५:०९

-डा. केदार चन्द्र भट्ट
मेयर किन बन्नुहुन्छ भनेर प्रश्न गरियो भने आउने उत्तर भनेको विकास गर्न हो ? विकास गर्न के–के चाहिन्छ त ? के नेपालमा नेताहरु कसैले साच्चै विकास गरेका छन् त ? छन् भनौ भने कसरी भनौं केही भन्न लायक विकास देखिएको छैन। विकास भएको छैन भनौं भने कसरी भनु यति सडक बनेका छन्।  पालिका भवन बनेका छन्। स्कुल कलेज बनेका छन्। केही पनि नबनेको त होइन ? अब कसरी दाज्ने नेताहरुले विकास गरेका छन् या छैनन् भनेर ? भावनात्मक तरिकाले वा पूर्वाग्रही तरिकाले। यी दुवै तरिका गलत हुन्।

नेपालको कुनै पनि तहले संरचनात्मक, सांगठनिक विकासको कुनै निश्चित मोडेल अपनाएको देखिँदैन। स्थानीय तहमा कुनै विकासको मोडेलबारे छलफल बहस त के सामान्य सोच समेत आएको देखिदैन। विगत ५ वर्षको काम गराईले आधारभूत रुपमा नेपालको स्थानीय तहलाई विकासको सन्दर्भमा अस्पष्ट र अनियमितता तथा भ्रष्टाचारको सन्दर्भमा स्पष्ट बनाइदिएको छ।

नेपालमा स्थानीय तहको चुनाव वैशाख ३० गते हुँदैछ। यसका लागि नेपालका राजनीतिक दलहरु आ–आफ्नै तरिकाले चुनावको रणनीति बनाउँदै छन्। पार्टीका नेताहरु मात्र होइन स्वतन्त्र हैसियतमा उम्मेद्ववारी दिनेहरु पनि हौसिएका छन्। यति मात्रै होइन पार्टीको टिकट प्राप्त गर्न दलाल, कमिशनखोर, ठेकेदार, डन, गुन्डा, चाकरीबाज, बेइमान आदी विभिन्न क्षेत्रमा बद्नाम कमाएका र हुति नभएकाहरुको व्यापक सक्रियता बढेको छ। पार्टीमा काम गर्दा सिन्को नभाच्ने, गाउँ घरमा पार्टीको काम नगर्ने, विपक्षीलाई गालीगरी समय बिताउने, कमिसन उठाउन ठाउँ ठाउँमा जाने पनि चुनावी टिकटका लागि अग्रपङ्तीमा नै छन्। नेताहरूसँग फोटो खिचाउन मात्र काठमाडौं र कार्यक्रम भएका ठाउँमा पुग्ने, नेता समक्ष आफ्नै साथीको ब्याकबाइटिङ गरि आफूले काम गरेको देखाउने, फेसबुकमा मात्र नेताहरु संगका फोटाहरु पोष्ट गरि जनतालाई देखाउनेहरु पनि यो दौडमा अग्रपंक्तीमा नै रहेका छन्।  

नेताहरुका श्रीमती र उनका आफन्तका जानकारहरु नानाथरिका कोशेली बोकेर नेताहरुको श्रीमती, छोराछोरी, ज्वाई कहाँ धाइरहेका छन्। आजसम्म मैले पार्टी जोगाई दिएको छु। मलाई टिकट दिएमा मात्र जितिन्छ नत्र हारिन्छ। म नभए यो पार्टी नै रहदैन भनि नेतालाई घुर्की लगाउने पनि यो दौडमा अग्रपंक्तीमा नै रहेका छन्।

पार्टीका लागि जीवन नै दिनेहरु, सम्पूर्ण समय पार्टीमा नै बिताएकाहरु, कुनै ठेकापट्टामा संलग्न नभएकाहरु, उपभोक्ता समितिमा नबसेकाहरु, पार्टी र सरकारको कुनै पद प्राप्त नगरेकाहरु, कुनै नेताको जी हजुरी नगरेकाहरु, कुनै नेताका परिवारमा नजन्मेकाहरु, कुनै नेताको नाता गोता नपरेकाहरु, पार्टीका कुनै गुटमा सक्रिय नभएकाहरु, जो योग्य, सक्षम र इमान्दार छन् उनीहरुको पार्टीमा अपवादमा बाहेक कुनै मूल्य छैन। समाजले, परिवारले, राजनीतिक पार्टीहरुले त्यस्ता पार्टीका व्यक्तिलाई ‘बिचरा’ र ‘पीडित’ भन्ने गरेका छन्। 

श्रीमतीहरुले त्यस्ता व्यक्तिलाई ‘काम नभएको फिरन्ते’को पगरी लगाउने गरेका छन्। समाजका भद्र भलादमीले त्यस्ता व्यक्तिलाई ‘असफल’ को कोटीमा राख्दछन्। भने, समाजमा राजनीतिका माध्यमबाट विभिन्न पदमा रहि गलत कामगरी वा कमिशन लिइ गलत तरिका प्रयोग गरि नेताको चाकरी र आशिर्वादवाट बेइमानी पूर्ण तरिकाले धन आर्जन गर्नेहरुलाई त्यसले त राम्रो प्रगति गर्‍याे। धन सम्पत्ती राम्रो कमायो। काम गर्नु त त्यसरी भनेर प्रशंसा गर्ने गर्छन्।

यसले समाजलाई, राजनीतीलाई  र व्यक्तिलाई नराम्रो तरिकाले भ्रष्टीकरणतर्फ लगेको छ। जुन समाजले पैसाको उपलब्धतालाई विगतको आधार र परिणामसँग हेर्दैन त्यो समाज भ्रष्टाचारको जननी बन्दछ। समाजले त्यसको आधार राखी सकेपछि यो अत्यधिक घातक हुन्छ। राज्यले संवेदनशिलता देखाएन भने समग्र राज्य नै भ्रष्टीकरणतर्फ जान्छ। कतिपय समाजहरु अपराधलाई सामान्य मान्ने हुन्छन्। त्यहाँ अपराध पालिन्छ। कतिपय समाजमा जुवातास, रक्सी, वेस्यावृति सामान्य मानिन्छ त्यहाँ त्यो सामान्य नै हुन्छ।

के नेपालको समाजमा, परिवारमा भ्रष्टाचार सामान्य भइसकेको हो ? यसले सर्वस्विकार्यता पाइसकेको हो। राज्यले यसलाई नजरअन्दाज गरेको हो ? वा राजनीतिका माध्यमवाट नयाँ निर्माण गरिरहेको त होइन ? कि आय आर्जनका अरु उपाय नभएर राजनीतिक भ्रष्टाचारलाई अंगालिएको हो। वा उपभोक्तावादको बढ्दो प्रभाव र दबाबलाई धान्न नसकेर बढेको हो।

कारण जेसुकै भए पनि राजनीतिक आवरणमा गरिने भ्रष्टाचार अरु सबै भ्रष्टाचारहरुको जननी हो। भ्रष्टाचारलाई पारिवारिक मान्यता र सम्मान दिने हो भने नया पिँढीलाई तिमी ठुलो भ्रष्टाचारी बन्नु, सबैभन्दा धेरै भ्रष्टाचार गर्नसक्नु, ठाउँ ठाउँमा त्यो भ्रष्टाचारको पैसाले सम्पति किन्नु, त्यसको बाहिर ठुलो अक्षरमा फलानो ठाउँको भ्रष्टाचारबाट किनेको भनेर संगमरमर मा नाम लेखाउनु भनेर के कुनै परिवारले आशिर्वाद दिन सक्छ ? मैले फलानो ठाउँबाट भ्रष्टाचार गरेर यति कमाए भनेर कसैले फुर्ती लगाउनसक्छ ? 

आजको दिनमा पैसाको फुर्ती लगाउन त सकिन्छ तर भ्रष्टाचारबाट कमाएको भन्न सकिँदैन। किनभने, नेपालमा मृततुल्य भए पनि भ्रष्टाचार विरोधी कानून छ। यसको ठिक ढंगले सेटिङरहित प्रयोग भयो भने भ्रष्टाचारीले जेल जानुपर्ने हुन्छ। जुन कुनै व्यक्ति पनि चाहदैन। कुनै परिवार चाहदैन। तर पनि नेपालमा किन भ्रष्टाचार बढीरहेको छ भने यहाँको राजनीति र प्रशासनले यस्का लागी ठुलो प्लेटफर्म निर्माण गरेको छ। 

राजनीतिक पार्टीहरुले भ्रष्टहरुको शक्तिबाट सत्तामा रहन सकिन्छ। धन आर्जन पनि गर्न सकिन्छ र कानुनबाट बच्न पनि सकिन्छ भन्ने मान्यतालाई सैद्वान्तिक रुपमा विरोध गरे पनि व्यवहारिक रुपमा स्वीकार गरिएको छ। जसका कारणले र प्रशासनले आफुले सके जतिको धेरै कमाउने तथा केही दलहरूलाई दिने र तिनै दलहरूलाई देखाएर आफु कानूनको दण्डबाट बच्न सकिन्छ भन्ने आधारमा भ्रष्टाचारलाई स्वीकार गरेका कारणले आज व्यक्ति भ्रष्टाचारी हुन गइरहेको छ।

गलत तरिकाबाट पैसा कमाउने माध्यम आजको दिनमा व्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा स्थापित हुँदै गएको देखिन्छ। जुन देश विकासको लागि सबैभन्दा घातक हुन्छ र यसले व्यक्तिगत, पारिवारिक र सामाजिक विघटनमा ठूलो भूमिका खेल्दछ। यस्लाई हटाउन र घटाउन सक्ने सामूहिक क्षमता भनेको देशसँग मात्र हुन्छ। व्यक्तिसँग हुने भनेको नैतिक बल र सीमा मात्र हो।

मेयर किन बन्नुहुन्छ ?
विकृति र दिशाहिन राजनीतिको सिकार भएको आजको राजनीतिमा के छ भनेर कसैले सोध्यो भने सहज आउने उत्तर हो पद, पैसा र शक्ति। स्थानीय तहको राजनीति गाउँमा हुने हो। जब गाउँमा नै अथाह पैसा कमाउने संयन्त्र बनेको छ भने किन पैसा नकमाउने ? आज नकमाएर कहिले कमाउने ? 

कमाउन के गर्नुपर्छ त ? केही खास गर्नुपर्छ। जनताका बीचमा विपक्षीलाई बेस्सरी गाली गर्नुपर्छ। धनीमानी, जग्गा जमीनवालाहरुलाई सामन्त भन्नुपर्छ। आफू पढेलेखेको छैन भने पढेलेखेकालाई समाजका कुरा केही नजान्ने, कितावका कुरा मात्र जान्ने, कथित डिग्रीधारी भनिदिनु पर्दछ। हामी अंग्रजी बोल्न नजानौला अरु सबै कुरा जानेका छौं।

कलेज विश्वविद्यालय पढेर मात्र हुन्छ, समाज पढ्नुपर्छ भनिदिनु पर्छ। आम कर्मचारीलाई एकचोटी रटेर लोकसेवा पास गर्दैमा हुन्छ र ? हामीले जनतालाई उत्तर दिनुपर्छ भनेर भनिदिनु पर्छ। तर कार्यकारी प्रमुख, लेखा प्रमुख र प्राविधिक (इन्जिनियर र ओभरसियर आदी) लाई भने खास बनाउनुपर्छ। उनीहरुलाई राजनीतिक संरक्षण दिने वचन दिनुपर्छ। केही परिहाल्यो भने हामी छौं भनिदिनु पर्छ। पुलिस, वकिल सबै हाम्रा छन् परेमा न्यायाधीश चिनेको छु भनिदिनु पर्छ। मागेको पैसाको हिस्सा दिनुपर्छ। यति भएपछि पैसा आउने विरुवा रोपिन्छ, बढ्छ र फल्न थाल्छ।

चुनावमा मेयर पद जितियो। पैसा आएपछि सान पनि बढ्ने नै भयो। मान पनि बढ्नेभयो, श्री सम्पत्ती पनि बढ्ने नै भए। घर, जग्गा जमीन, शेयर, लगानी, व्यापार, व्यावसायमा दिन दुना रात चौगुना वृद्वी हुने नै भयो। अनि केही विपक्षी जसले कमाउन सकेका छैनन् विरोध गर्ने नै भए।

विरोध गरेर के हुन्छ ? मेयर जित्न आजको दिनमा कम्ति मुस्किल छ। हिजोका दिनमा जस्तो सिद्वान्तको राजनीति आज छैन, भट्मास खाएर गाउँ जाने। आज त बियरको पानी, रक्सी मासुभात, गाडी, रिचार्ज, पकेटमनी आदि नभई गाउँमा जान कार्यकर्ता मान्दैनन्। अलिकति सान शौकतवाला कार्यकर्ता लगेन भने गाउँकाले पत्याउदैनन्।

केही कर्मचारी नमिलाई चुनाउको भेउ नै पाइदैन्, कतिपय ठाउँमा डन राख्नुपर्छ। यो त जगेडा पनि राख्नुपर्छ। कट्टर नेताको आवरणमा। सबै ठाउँमा खर्चै खर्च करोडमा लगानी गरेर मेयर हुने हो भने करोड त निकाल्नै पर्‍याे। अनि, अर्को चुनावमा टिकट किन्न र खर्च गर्न पनि त बनाउनु पर्‍याे। लाइफ सेटेल गर्नै पर्यो। पछि त राजनीतिको के भर टिकट पाइयोस् कि नपाइयोस्। पाइए पनि जितियोस् कि नजितियोस्। त्यसैले अहिले कमाउनु परेन त ? 

भ्रष्ट राजनीतिमा फलानाले पैसा कमायो भनेर विपक्षीले भन्ने कुरा त साँझा कुरा भइहाल्यो। सबैले सबैलाई भन्ने नै हो। गर्ने सबैले त्यहि पैसा कमाउने हो। जनताका बीचमा बिरोध गरि भन्नै पर्ने धर्म निभाएको मात्र हो। 
सिद्वान्तका कुरा, विचारका कुरा, दर्शनका कुरा, इन्दारिताका कुरा यी राजनीतिका आधार हुन्। जहाँ यिनी छन् त्यहाँ राजनीती छ। तर आज यी त कर्मकाण्डी भइहाले। विवाह, पूजाआजामा पण्डितजीले गर्ने संस्कृतका पाठ जस्ता।

हामी बुझ्दैनौ, बुझेन पनि भन्दैनौ, बुझ्न पनि चाहदैनौं। बस् पण्डितजी ले पूजा गरिदिए र आशिर्वाद दिए पुग्यो। यस्तै नेताजीहरुले सिद्वान्तका, दर्शनका कुराभन्दा पनि विपक्षी पार्टीलाई आरोप प्रत्यारोप लगाए, गाली गरे पुग्यो। एकले अर्कोलाई, सबैले सबैलाई। जति काण्डै काण्डै गरेर भ्रष्टाचारका सबै सीमाहरुलाई पार गरिसकेपछि पनि नेताजीले भन्ने कुरा भनेको मैले केही कमाएको हुला तर भ्रष्टाचार भने गरेको होइन। त्यो त विपक्षी पार्टीले गरेको हो। 

निष्कर्षमा मेयर(प्रमुख) बनेर गाउँ सहरको विकास गर्न गाह्रो छ। बरु आफ्नो विकास गर्न सजिलो। केही खायो, केही खुवायो, मिलाउने कार्यकारी प्रमुख छँदैछन्। पार्टी छँदैछ। गांउँ, सहरको विकास भनेको सांगठनिक जीवन्त योजना हो। यसका लागि इमान्दार व्यक्तिसँगै इमान्दार पार्टी र सहयोगी जनता चाहिन्छन्। द्तचित् र कर्मठ कर्मचारीतन्त्र चाहिन्छ। 

मेयरको पहिलो काम भनेको विकास गर्नु होइन विकासको वातावरण बनाउनु हो। यो राजनीति सँगै कलात्मक पक्ष हो। विकास चाहना, योजना र पैसाले मात्र हुने कुरा होइन। यो त सबैसँग हुन्छ। विकासका लागि विकासको सिंगोपाङ्गो सामाजिक, प्राविधिक अध्ययन चाहिन्छ। दृढतासहितको दृढ इच्छा शक्ति र धैर्यता चाहिन्छ। यो एकै दिनमा हुने कुरा होइन र कहिले सिद्दिने कुरा पनि होइन। त्यसैले विकास गर्न गाह्रो छ।
अव भन्नुहोस तपाईहरु मेयर(पालिका प्रमुख) किन बन्ने ? भ्रष्टाचार गर्न कि विकास गर्न ?   

(लेखक भट्ट ग्रामीण विकास विषयमा त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधी हुन्। उनी अधिवक्ता हुन्।)

कमेन्ट लोड गर्नुस