सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहको प्रमुखमा महिलाको इच्छा, दलभित्र सकस

महिला नेतृत्व

२०७८ चैत्र २४, १२:२१ कमल सावद

धनगढीः सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा नेपाली कांग्रेसबाट उपप्रमुखमा विजयी सुशिला मिश्र भट्टको कार्यकाल उत्तरार्धमा छ। भट्टले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा आकांक्षा देखाएकी छिन्। तर पार्टीले विश्वास गर्ने वा नगर्ने भन्ने विषयमा उनी भने अन्यौलमा छिन्। नेपाली कांग्रेसले विश्वास गरेमा मेयर पदको उम्मेदवारीका लागि तयार रहेको उनको धारणा छ। उनले भनिन्, ‘अहिले पनि छलफलमा छु। आकांक्षा स्वभाविक हो।’

कैलालीकै गोदावरी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा विजयी भए। नगर प्रमुख हरिसिंह साउँद एमालेमै छन् भने उपप्रमुख रतना कठायत नेकपा एकीकृत समाजवादी पार्टी गएकी छिन्। 

उपप्रमुख कठायतले पनि आगामी निर्वाचनका लागि नगरप्रमुखको तयारी थालेकी छिन्। नगरपालिकामा ५ वर्ष उपप्रमुख भएर जनताको काम गरेकाले मेयरका लागि तयारीमा रहेको उनको दाबी छ। ‘उपप्रमुखलाई प्रमुखको जस्तो अधिकार हुँदैन। क्षमता हुँदा पनि देखाउन सकिएन। केही काम त भएका छन्। अब प्रमुख भएर काम गर्ने तयारी गरेकी छु’ उनले भनिन्,  ‘म आगामी निर्वाचनमा मेयरको दाबेदार हो।’ पार्टीले पनि विश्वास गर्नेमा उनी विस्वस्त छिन्।

कैलालीका स्थानीय तहमा उपप्रमुख पदमा महिला मात्र छन्। ०७४ को निर्वाचनमा महिलालाई राजनीतिक दलहरुले प्रमुख पदमा विश्वास गरेनन्। आसन्न निर्वाचनमा प्रमुखमा उनीहरुले आकांक्षा देखाए पनि राजनीतिक दलहरुले टिकट दिनेमा धेरै कमलाई विश्वास छ। 

कैलालीको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले पार्टीको बैठक बसेपछि मात्र नगरपालिकामा प्रमुखका आकांक्षीहरुको टुंगो लाग्ने बताइन्। उनले भनिन, ‘मेरो पनि मेयरमा दाबी हो। पार्टीको बैठक बसेको छैन। आकांक्षीहरु आउँछन् होला।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस