कंगोमा विद्रोहीको आक्रमणमा नेपाली शान्ति सैनिकको मृत्यु
काठमाडौं : शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ।
नेपाली सेनाका अनुसार अपरेसन 'बाली' को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङ घाइते भएका थिए। उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गरेका छन्। यस्तै, संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन्।