बैतडीका पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण
बैतडी: बैतडीका २ गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन्। पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन्।
४ वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ। भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ। पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्सनले करीब २ करोड रुपैयाँको लागतमा निर्माण गरेको हो। शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो।
आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको थियो। विक्रम संवत् २०७६ सालमा ठेक्कामार्फत भवन निर्माण थालिएको थियो। स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भइरहेकामा अब त्यो समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। भवन निर्माणसँगै सेवा सुरु गरिएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए।
भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता आएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए।