चेपाङ बस्तीमा बिजुली बत्ति
बागमती: चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएपछि त्यहाँका बासिन्दा खुसी भएका छन्। सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ति बालिएको सो गाउँपालिकाले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए। गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको अँध्यारो हटेर उज्यालो भएको गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताए।
२३ लाखको लागतमा सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोगका साथै स्थानीयवासीको श्रमदानमा चार किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए।
पेल्ट्रिक सेटका लागि उक्त सञ्जालले १३ लाख सहयोग गरेकामा गाउँपालिकाले छ लाख र बाँकी चार लाख बराबरकोे स्थानीयवासीले श्रमदान गरेका थिए।
अघिल्लो वर्ष पुस महिनादेखि निर्माण सुरु गरिएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएको उक्त सञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले भने। गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् प्राविधिकरणमार्फत विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले नै यस्ता केही स्थानमा पेल्ट्रिक सेट जडान गरेर बत्ति बालिएको छ।