सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्का प्रहारको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

२०७८ चैत्र २१, ०४:४९ खबर संवाददाता

धनगढीः फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) लाई कुटपिटको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै खड्काले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेपछि उपाध्यक्ष राई आफैं प्रहरीमा आत्मसर्मपण गर्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान गरिनेछ। पालिकाका अध्यक्ष श्रेष्ठसँग आन्तरीक छलफल भइरहेको समयमा पालिकाकी उपाध्यक्ष राई एक्कासी प्रवेश गरी गाली गलौज गर्दै खड्कामाथि आक्रमण गरेको पीडितको उजुरीमा छ। घटनापछि तत्काल कानुनी कठघरामा ल्याई कारबाही गर्न र उचित न्याय दिनुपर्ने भन्दै खड्काले प्रहरीमा उजुरी दिएका थिए।

गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा राईले खड्कामाथि कुटपिट गरेको स्थनीयहरू बताउँछन्। राईले भने चुनावको मुखमा अरूका कमजोरी आफूमाथि लाद्ने प्रयास गरिएको र अश्लील शब्दसमेत प्रयोग गरिएकाले आफूले प्रतिकार गरेको बताइन्। फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाहरूबाट आवेदन आह्वान गरेको थियो। कोरिया जान चाहने ४ सय ७७ युवाले गाउँपालिकामा आवेदन दिएका थिए। तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्ट समूहले विरोध जनाउँदै आएको थिए। असन्तुष्ट समूहले पालिका कार्यालय तोडफोडसमेत गरेका थिए।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष राई, वडाध्यक्षहरू र असन्तुष्ट युवाहरूबीच चैत १८ गते वार्ता भएको थियो। वार्तामा सहमति हुन नसकेपछि दुवै पक्ष अर्को चरणको वार्ता गर्नेगरी बाहिरिएका थिए। अर्को चरणको वार्ता सुरु हुनुअघि उपाध्यक्ष राईले खड्कालाई अनुहारमा मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

कमेन्ट लोड गर्नुस