सुदूर नेपाललाई विश्वसँग जोड्दै

बचन तोडे कसम नि तोडे, गौरीफन्टा नाका स्तरोन्नति गर्छु भन्नेले

२०७८ चैत्र १९, १०:४४ कमल सावद

धनगढीः त्रिनगर–गौरीफन्टा नाका स्तरोन्नतिको मुद्दा ओझेलमा परेको छ। निर्वाचन र प्रधानमन्त्रीको भारत भ्रमणका समयमा चर्चामा रहने उक्त नाका स्तरोन्नतिको मुद्दाबारे कुनै ठोस निर्णय हुन सकेको छैन। पछिल्लो केही समययता गौरीफन्टा नाकाको स्तरोन्नतिको विषयमा नेताहरु बोल्न छाडेका छन्। 

नाका स्तरोन्नतिलाई मुख्य चुनावी एजेण्डा बनाएका जनप्रतिनिधिले कार्यकाल उत्तरार्धमा पुगेको छ। तर चुनाव जितेको पाँच वर्षसम्म विजयी नेताहरुले नाका स्तरोन्नतिबारे छलफल समेत चलाउन इच्छा देखाएनन्। यस्तै अन्तर्राष्ट्रिय करिडोर बनाउन भारतसँग भएको सहमति पनि पाँच वर्षसम्म कार्यान्वयन भएको छैन। कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य रहेका नारदमुनि रानाले भारतीय पक्षबाट उक्त करिडोर प्राथमिकतामा नपरेको बताए। ‘मैले प्रधानमन्त्रीलाई निवेदन पनि गरेको थिए। तर नेपाल सरकारबाट पहल भएन। दुधुवा नेश्नल पार्क हुँदै सडक आएकाले भारतीय पक्षले पनि बेवास्ता गरेको छ’ उनले भने। 

अघिल्लो निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ र ५ बाट विजयी भएका सांसद र सो क्षेत्रका स्थानीय तहमा विजयी जनप्रतिनिधिले पनि गौरीफन्टा नाकाको स्तरोन्नतिलाई मुख्य एजेण्डा बनाएका थिए। तर चुनाव जितेको पाँच वर्षसम्म नाका स्तरोन्नतिबारे नेताहरुले मुख समेत खोलेनन्। 

पाँच वर्ष अगाडि काँग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुँदा भारत भ्रमणमा गएको समयमा भारत सरकारसँग भएका ४६ बुँदे सहमतिमध्ये त्रिनगर–गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय करिडोरका रूपमा स्तरोन्नति गर्ने एजेण्डा पनि थियो। उक्त सहमति भएको पाँच वर्ष पुग्नै लागेको छ तर कार्यान्वयन हुने कुनै छाँटकाँट नै देखिएको छैन।

उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले उक्त नाका स्तरोन्नतिबारे निजी क्षेत्रबाट पटक–पटक पहल भएको बताए। उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहमति भएको थियो। हामीले उहाँलाई दबाब दिएका हौं। अहिले पनि प्रधानमन्त्री ज्यू भारत भ्रमणमा हुनुहुन्छ। यो पटक कार्यान्वयनमा जान्छ होला।’

निर्वाचनमा सम्झिने राजनीतिक दलहरुले गौरीफन्टा नाकालाई पाँच वर्षसम्म भुल्ने गरेका छन्। राजनीतिक दलहरुले नाकाको मुद्दा ओझेलमा पारेको कञ्चनपुरको पुर्नवास नगरपालिकाका मेयर जीवन थापाले बताए। ‘हामीसँग कसैले छलफल पनि गर्नु भएन। हामीले पनि पहल गरेका छैनौं’ उनले भने, ‘हामी नाका व्यवस्थापन गर्दै आएका छौं। पहिलेको भन्दा नाका सुधार भएको छ। भौतिक संरचनाहरु पनि निर्माण गर्दैछौं।’

त्रिनगर–गौरीफन्टा नाकासम्म नेपालतर्फ ६ लेन सडक निर्माण भइसकेको छ। नेपालको पश्चिमी क्षेत्रको सबैभन्दा बढी भन्सार राजश्व संकलनका लागि भन्सार कार्यालय पनि छ। तर यस क्षेत्रका नेताहरुको उदासीनताका कारण नाका स्तरोन्नतिको विषय ओझेलमा परेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि सुरु भएको भारत भ्रमणमा भने त्रिनगर–गौरीफन्टा नाकाको विषयले स्थान पाउने सुदूरपश्चिमवासीको झिनो आशा छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस