सुशासनको यात्रालाई अघि बढाउँछौँ : अध्यक्ष ओली
काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू बिहीबार मात्रै कर्णालीको जुम्ला र कालिकोटमा पुग्दा विशालसभा र असाधारण उत्साह देखिएको जनाउँदै ‘समृद्धि नेपाल, सुखी नेपाली’ को यात्रा लेखक साहित्यकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए। उनले कुनै पद पाउनका लागि दौडनेभन्दा पनि सामूहिक भाव र समझदारीका साथ देश बनाउने बाटोमा लाग्न पनि आग्रह गरे।
पूर्वप्रधानमन्त्री ओलीले शैव दर्शन, योग दर्शन र बुद्ध दर्शनका साथै विविध सभ्यताको उद्गमस्थल नेपाल नै भए पनि गरिबी र पछ्यौटेपनका कारण त्यसलाई अगाडि बढाउन नसकिएकामा मुलुकमा विकास र समृद्धिको यात्रा आरम्भ भएसँगै अब इतिहास, संस्कृति र सभ्यताको संरक्षणको यात्रा आरम्भ हुने बताए। एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले एमालेको समृद्धिको यात्रामा सारथी बन्न स्रष्टालाई आग्रह गरे। महासङ्घका अध्यक्ष खगेन्द्र राईले महासङ्घसहित मातहतका सात घटकका पनि अधिवेशन भई नयाँ नेतृत्व चयन हुने जानकारी दिए।