गगन थापा पक्षप्रति बलायरको आक्रोश: ‘रङ्गीन कुरा गरेर काँग्रेस चल्दैन’
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टी सभापति गगन थापा पक्षप्रति तीव्र असन्तुष्टि जनाउँदै भ्रम फैलाएर काँग्रेस कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले नयाँ पुस्ताका नेताहरूले पार्टीको इतिहास, संघर्ष र बलिदान नबुझेको टिप्पणी गरे। गगन थापाको नाम नलिई उनले कटाक्ष गर्दै भने, ‘२०४० सालमा जन्मेकाहरूले बीपी कोइरालासँग बनारसमा भेटेको गफ दिइरहेका छन्, यस्तो अप्राकृतिक कुरा गरेर पार्टी चल्दैन।’
सदस्यता नवीकरण र लेवीसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बलायरले हिजो महामन्त्री हुँदा नवीकरणका लागि परिपत्र गर्ने र आज त्यही विषयमा भ्रम फैलाउने काम भइरहेको आरोप लगाए। ‘रंगीन कुरा गरेर काँग्रेस चल्दैन,’ उनले भने।
सम्बोधनका क्रममा बलायर निकै आक्रामक देखिएका थिए। उनले आफूहरू शेरबहादुर देउवाको प्रेरणाले काँग्रेसमा लागेको उल्लेख गर्दै कसैको घमण्डले पार्टी नचल्ने बताए।
पार्टी अनुशासनको विषय उठाउँदै उनले प्रदेश सभापतिको निर्देशन र पार्टीको मापदण्ड नमान्नेलाई कारबाही गर्ने चेतावनी दिए। ‘जरा उखेल्नेहरूलाई हामी हेरेर बस्दैनौँ। हाम्रो मापदण्ड नमान्नेलाई फ्यात्त फालिदिन्छौँ,’ उनले भने।
काँग्रेस कार्यकर्ताले रगत, पसिना र परिवारको गाँस काटेर पार्टी जोगाएको उल्लेख गर्दै उनले पदको लोभमा नपर्न नेताहरूलाई आग्रह गरे। ‘काँग्रेस कमजोर भएको दिन देशको राष्ट्रियता संकटमा पर्छ। त्यसैले काँग्रेसलाई सिद्ध्याउने खेलविरुद्ध उभिनुपरेको हो,’ बलायरले बताए।
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा जारी छ। प्रदेश समितिको आयोजनामा भइरहेको भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू सहभागी छन् भने विशेष महाधिवेशनबाट निर्वाचित प्रदेशका केन्द्रीय सदस्यहरू उपस्थित छैनन्।
भेलामा पूर्वमन्त्री रमेश लेखक, मोहनबहादुर बस्नेत, मुख्यमन्त्री कमलबहादुर शाह, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, कुन्दन काफ्ले, ईश्वरी न्यौपाने, रामजनम चौधरी, अर्जुनजंगबहादुर सिंह, गोविन्दबहादुर शाह, रणबहादुर रावल, नैनसिंह महर, विद्या तिमिल्सिनालगायत नेताहरू सहभागी छन्।
प्रदेश सभापति बलायरको अध्यक्षतामा भइरहेको भेलामा पूर्वमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य नारायणप्रकाश साउँद प्रमुख अतिथि छन्। कार्यक्रममा जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसद तथा विभिन्न तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको छ।
भेलास्थलमा राखिएको ब्यानरमा निवर्तमान सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको भए पनि सभापति गगन थापाको तस्बिर भने राखिएको छैन।