बाइस जनामा सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८३५ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २२ रहेका छन्। पछिल्लो समय ७५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ४६९ पुगेको छ। यो दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, पूर्व रुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला छन्। नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ। हाल होम आइसोलेशनमा ९७१, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा १३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ५९ हजार ५४३ जनाले खोप लगाएका छन्।