सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटनाको कारक बन्दै ‘डिभाइडर’

२०७८ चैत्र १८, १०:४४ विन्दु चन्द

धनगढी : असोज २३ गते धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा हसनपुरका २६ वर्षीय दिमेश सिंहको मृत्यु भयो। अत्तरियाबाट धनगढी आउँदै गरको से ६ प ६१४७ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। त्यसपछि पनि पटकपटक डिभाइडरमा ठोक्किएर दुर्घटना भएका छन्। 

डिभाइडरका कारण जोखिम रहेको धनगढीका डिल्ली पौडेलले बताए। उनले भने, ‘डिभाइडरमै ठोक्किएर मेरो भाइको निधन भएको छ। रातिको समयमा देखिँदै देखिदैनन्।’ सवारी चालक प्रेमराज जोशीका अनुसार सडक सुरक्षाका लागि डिभाइडर आवश्यक रहे पनि धनगढी–अत्तरिया ६ लेन सडकको हकमा भने व्यवहारिक हुन सकेको छैन।

सडक खण्डमा सुरक्षाका लागि आवश्यक जेब्राक्रस, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ लगायत सडक पूर्वाधार तयार नगरी डिभाइडर मात्र राखेर जोखिम झनै बढेको हो। सडकमा राखिएका डिभाइडरका कारण आवतजावत गर्नै मुस्किल हुँदै आएको जोशीले बताए। ‘डिभाइडरका कारण सडक साँघुरो भएको छ,’ उनले भने, ‘पहिले सडक साँघुरो भयो भनेर ६ लेन बनाइयो, अब झन सामस्या भयो। बीच सडकमा डिभाइडर राखिएको छ। डिभाइडरले छुट्याएको लेनमा पार्किङ हुँदै आएको छ।’

डिभाइडरले छुट्याएको लेनमा साना गाडी चलाउनु पर्ने भए पनि ट्याकंर, ट्रक, कार, जिप, विगंर लगायतका साना तथा ठुला सवारी पार्किङ गरिएका हुन्। जसका कारण सडक दुर्घटनाको जोखिम छ भने सडक क्षेत्र कुरुप देखिएको छ। हाइवे सडक स्पीडमा सवारी चलाउनु पर्ने भए पनि डिभाइडरका कारण त्रासमा सवारी हाँक्नु परेको चालक भुवन टमट्टाले बताए। सडकमा राखिएका डिभाइडर, जथाभावी गरिएको पार्किङ, ६ लेन सडडको मेडियन भत्काएर बनाइएको क्रसिङ लगायतका कारण सडक अस्तव्यस्त हुँदै गएको हो। 

जसका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ। ६ लेन सडकको अस्तव्यस्तताका कारण व्यवस्थापनमा चुनौती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। ‘डिभाइडरले जोखिम बढाएको छ,’ उनले भने, ‘धेरैले डिभाइडरले छुट्याएको लेनलाई पार्किङ जोन भनेर बुझेका छन्। यसले धेरै असहज गरिरहेको छ।’

तर मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालय, धनगढीका प्रमुख रामबहादुर. गुरुङले भने डिभाइडरले सर्भिस लेन छुट्याउनका लागि राखिएको बताए। त्यो भित्र पार्किङ गर्न भने नपाइने उनले बताए। चैतमा ६ लेन सडकको निर्माण सम्पन्न गर्नुपर्ने हो। तर अझै धेरै काम बाँकी छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस