सुदूर नेपाललाई विश्वसँग जोड्दै

रात्रिकालिन प्रतियोगिताका लागि तयार हुँदै धनगढी रंगशाला

२०७८ चैत्र १७, ०५:४४ कमल सावद

धनगढीः कैलालीको धनगढी रंगशालामा जेठ ३ गतेदेखि मुख्यमन्त्री कप महिला गोल्डकप सुरु गर्ने तयारी छ। गर्मीका कारण दिउँसो गोल्डकप गर्न सकिने अवस्था छैन। सोहीकारण गोल्डकपका खेल राति खेलाउने तयारी भइरहेको छ। 

रात्रिकालिन खेलका लागि प्रदेश खेलकुद परिषद्ले रंगशालामा बत्ती जडान गर्न थालेको छ। एक हजार वाट क्षमताका १६ वटा बत्ती धनगढी रंगशालामा जडान गरिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए। ‘राति पनि खेल्न सकिने गरि हामी बत्तीको व्यवस्था गर्दैछौ। नाइट गेम खेलाउन हामी योग्य बनाउन लागिरहेका छौं। कतिसम्म सफल हुन्छौं, हेर्दै जाउँ,’ उनले भने। तराइका जिल्लामा गर्मीको समयमा दिउँसो खेलकुद प्रतियोगिता गर्न नसकिने अवस्था आएपछि धनगढी रंगशालालाई रात्रिकालिन प्रतियोगिताका लागि तयार पार्न थालिएको सिँहले बताए।  

प्रदेश खेलकुद परिषद्ले १६ ओटा बत्ती जडान गर्न १० लाख खर्च हुने अनुमान गरेको छ। ५० मिटर उचाईका पोलहरुमा एक हजार वाट क्षमताका बत्तीहरु राखिने छ। पोल दीर्घकालिन रुपमा धनगढी रंगशालामा रहने महिला गोल्डकपका संयोजक समेत रहेका प्रदेश खेलकुद परिषदका सदस्य दुर्गा अधिकारीले बताए। ‘हामीले एक पोलमा परीक्षण गरेका छौं। सधैका लागि हामी बत्तीको व्यवस्था गर्ने छौं,’उनले भने। 

धनगढी रंगशालामा जडान गरिएको बिजुलीको शुल्क जिल्ला खेलकुद विकास समितिले तिर्ने छ। धनगढी रंगशालामा ८ वटा बत्तीले पनि खेल खेल्न सकिने भए पनि १६ ओटाले अझै सहज हुने दाबी गरिएको छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस