सुदूर नेपाललाई विश्वसँग जोड्दै

परमाणु सामग्री नष्ट गर्न उत्तर कोरिया राजी

। फोटो स्रोत ।
२०७५ माघ १८, ०१:२१

उत्तर कोरिया आफ्ना सम्पूर्ण परमाणु सामग्री नष्ट गर्न राजी भएको अमेरिकाले दाबी गरेको छ।
अमेरिका र उत्तर कोरियाबीच परमाणु निःशस्त्रीकरणको विषयले गति लिन नसकिरहेका बेला उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफन बेगनले सम्पूर्ण परमाणु सामग्री नष्ट गर्न उत्तर कोरिया तयार रहेको दाबी गरेका छन। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले गत अक्टोबरमा गरेको उत्तर कोरिया भ्रमणका दौरानमा उत्तर कोरियाले त्यस्तो प्रतिबद्धता जायर गरेको दाबी बेगनको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले पनि उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणतर्फ उच्च प्रगति भएको जिरह गरेका थिए।उत्तर कोरियाले परमाणु सामग्री नष्ट गर्न प्रतिबद्धता जनाएकाले अब हुने वार्ताअघि त्यसको सूची उपलब्ध गराउनुपर्ने बेगनको भनाइ छ।
‘हामीले परमाणु अस्त्र निःशस्त्रीकरण गर्नुपूर्व उत्तर कोरियाका परमाणु सामग्री र त्यसको भण्डारबारे जानकारी पाउनु पर्छ’, बेगनले भने, ‘परमाणु भण्डारमा विज्ञ पठाउने र त्यसको अनुगमन गर्ने काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्नुपर्छ।’ यता, उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु सामग्री नष्ट गर्न तत्परता देखाए पनि केही सर्तहरु अघि सारेका छन। बीबीसीका अनुसार, विगतमा अमेरिकाले जनाएका प्रतिबद्धताहरुको सुनिश्चितता किमले खोजेका छन। परमाणु निःशस्त्रीकरणमा दुई देशबीच करिब–करिब सहमति जुट्ने देखिए पनि ट्रम्प–किमबीच हुने भनिएको दोस्रो शिखर वार्ताको मिति र स्थान भने अझै तय भइसकेको छैन। यद्यपि, ट्रम्पले बिहीबार छिट्टै शिखर वार्ताको मिति र स्थान तय हुने बताएका थिए। दुईबीच गत वर्ष पहिलोपटक सिंगापुरमा शिखर वार्ता भएको थियो।

कमेन्ट लोड गर्नुस