सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावको मुखमा देश छाड्ने बढे, भन्छन्, ‘भोटभन्दा भोक ठुलो हो’

२०७८ चैत्र १५, ०७:४० विन्दु चन्द

धनगढी : स्थानीय तह निर्वाचन घोषणा भएसंगै सुदूरपश्चिममा पनि चुनावी सरगर्मी बढेको छ। विभिन्न राजनितिक दलका नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। विभिन्न एजेण्डा लिएर उनीहरु गाउँ बस्ती पस्ने क्रम सुरु हुँदा गाउँका अधिकांश युवा मतदाताहरु रोजगारीका लागि भारत पसिरहेका छन्। 

भोटभन्दा भोक ठुलो भएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका तुलाराम सार्कीले बताए। उनले भने, 'यो हाम्रो बाध्यता हो रहर होइन। कसैलाई भोट दिएर हामी केही पाउँदैनौँ। पहिले पनि भोट दिएका नै हौं।' नेपालमै रोजगारीको वातावरण बनाउन प्रयाससमेत नभएको उनको गुनासो थियो।

सोमबार त्रिनगर–गौरीफन्टा नाका भएर भारत पस्नेहरुमध्ये कतिपयका त आफन्त नै निर्वाचन लड्ने तयारीमा छन्। उनीहरुलाई चुनावमा भोट तथा प्रचारप्रशारका लागि रोक्न आग्रह पनि भइरहेको थियो। तर पटकपटक भोट दिएर सत्तामा पुगाइएका नेताले स्वदेशमा रोजगारीको वातावरण बनाउन नसकेको आक्रोस भारत पस्नेहरुमा देखिन्थ्यो। 

आफ्नै परिवारबाट पनि उम्मेदवार रहेको सीमामै भेटीएका डडेल्धुराको आलितानका शेरबहादुर विष्ट बताए। 'आफ्नै परिवारका सदस्य उम्मेदवारी दिने छन्,' उनले भने, 'प्रचारप्रसार गरिदेउ, नजाउ भारत भनेर रोक्छन्। तर अहिले प्रचारप्रसार गरेर पेट पाल्न सकिदैन। पहिले पनि प्रचारप्रसार गरियो। र, जिताइयो। तर केही भएन।' नेताहरुले झुटा आश्वासन दिने गरेको उनको आक्रोस छ। 

अघिल्लो चुनावमा पनि विभिन्न एजेण्डा बोकेर नेताहरु गाउँगाउँ पुगेका थिए। तर ती एजेण्डा पुरा गर्न नसेको र फेरी पुरानै एजेण्डा लिएर भोट मागिरहेको समेत उनीहरुले बताएका छन्। भोटका लागि अहिले विभिन्न प्रलोभन देखाउने, आश्वासन दिने तर जितिसकेपछि फर्केर समेत नहेर्ने गरेको गुनासो उनीहरुले गरेका छन्।

चुनावमा विभिन्न बाहना लिएर आउने तर जितिसकेपछि गाउँमा फर्केर समेत नआउने गरेको कैलालीको हसुलीयाका झकंर कुमाल बताएँछन्। उनी भन्छन, 'चुवावमा आउँछन्, यो गर्छौँ त्यो गर्छौँ भन्छन्। तर जितिसकेपछि फर्केर हेर्दैनन्। आफ्ना दुख आफैँसंग छन्। उनीहरुका पछि लागेर केही हुँदैन।'

विभिन्न आश्वासन दिएर राजनीतिक दलका उम्मेदवारले झुक्याउने गरेको गुनासो उनीहरुले गरेका छन्। तीन तहकै सरकारले रोजगारीका कुनै प्रयाससमेत नगरेको आरोप कञ्चनपुरको पुनर्वासका विरबहादुर सिंहको छ। उनले भने, 'जुन एजेण्डा पहिले थिए, सोही अहिले पनि छन्। पुराना एजेण्डासमेत पुरा गर्न सकेका छैनन्।' अहिले सुदूरपश्मिका एउटै सीमा नाकाबाट दैनिक ५ सय बढी नागरिक रोजगारीका लागि भारत पसिरहेका छन्।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस