एआईजी सिफारिस विवादको टुंगो लगाउन बैठक डाकियो
काठमाडौंः नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको सिफारिसविरुद्ध परेको उजुरी टुंगो लगाउन भोलि बैठक बोलाइएको छ।
लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी संयोजकत्वको तीन सदस्यीय उजुरी सुन्ने समितिको बैठक तय गरिएको हो। समितिमा मुख्य सचिव शंकरदास बैरागी कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा सदस्य छन्। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अर्को एक बैठक बोलाएका कारण भोलि बैठक बस्ने निश्चित नभएको स्रोतले बतायो।
वरीयता मिचेर सिफारिस गरिएको भन्दै घनश्याम अर्याललगायत सिनियर डीआईजीहरूले गृहसचिव टेकनारायण पाण्डे संयोजकत्वको सिफारिस समितिले गरेको निर्णयविरुद्ध उजुरी गरेका हुन्। चैत १ गते बसेको बढुवा समितिको बैठकले डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
सिफारिस भएको एक साताभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था बमोजिम अर्याललगायत उजुरी सुन्ने समितिकहाँ पुगेका हुन्। उजुरी गर्ने म्याद सकिएको १५ दिनभित्र उजुरी सुन्ने समितिले निर्णय गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।