ओस्कार मञ्चमा हंगामाः सर्वोत्कृष्ट अभिनेता घोषित विल स्मिथले होस्टलाई हाने थप्पड

काठमाडौंः अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्ड समारोह चलिरहेको थियो। त्यसैबीच स्टेजमा आएका क्रिस रकले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरे। त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गए र क्रिसलाई जोडले थप्पड हाने।
विलले रकलाई चेतावनी दिंदै भने, ‘मेरी श्रीमतीको नाम कहिल्यै मुखबाट उच्चारण नगर्नु।’ क्रिस रक एक अमेरिकी हास्य कलाकार हुन्। सो कार्यक्रममा युक्रेनको समर्थनमा दुई मिनेट मौन धारण गरिएको थियो। यससँगै युक्रेनलाई सहयोग गर्न सक्नेलाई सहयोगको अपील पनि गरिएको थियो। अवार्ड कार्यक्रममा हुमा कुरैशीको ‘आर्मी अफ द डेड’ले फ्यान च्वाइस अवार्ड पाएको छ। केनेथ ब्रानाघले फिल्म बेलफास्टका लागि बेस्ट ओरिजिनल स्क्रिन प्ले अवार्ड जिते। चलचित्र ‘द लङ गुडबाई’ले लाइभ एक्सन सर्ट फिल्मको एकेडेमी अवार्ड पाएको छ। जेनी बेवनले ’क्रुएला’ को लागि उत्कृष्ट कस्ट्युम डिजाइन अवार्ड प्राप्त गरे।

‘राइटिङ विथ फायर’ दौडबाट बाहिरियो

द समर अफ सोलले उत्कृष्ट डकुमेन्ट्री फिचर विधामा ओस्कार अवार्ड जित्यो। भारतको फिल्म राइटिङ विथ फायरले पनि यस वर्ष आधिकारिक प्रवेश पाएको थियो। तर फिल्मले अवार्ड जित्न सकेन। फिल्मलाई रिन्टु थोमस र सुस्मित घोषले निर्देशन गरेका हुन्।
