कञ्चनपुरका उखु किसान कटान अनुमती नपाउँदा हैरान, भारतबाट धमाधम उखु ल्याईदै
सरकारले निर्धारण गरेको मूल्य पाउनबाट बञ्चित भएका कञ्चनपुरको दक्षिणी क्षेत्रका उखु किसानहरु चिनी मिलले उखु कटानका लागि अनुमती नदिदा झनै समस्यामा परेका छन्। चिनी मिलहरुले नेपाली किसानहरुलाई कटान अनुमती नदिएर भारतीय किसानहरुबाट उखु खरिद गर्न थालेपछि नेपाली उखु किसानहरु समस्यामा परेका हुन। सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैँया निर्धारण गरेपनि झण्डै १ सय २५ रुपैँया सम्म कम मूल्यमा विक्री गर्न बाध्य कञ्चनपुरका उखु किसानहरु उखु काट्न पनि बञ्चित भएका छन्। उखु काट्नका लागि किसानहरुलाई चिनी मिलको कटान अनुमती पत्र आवश्यक हुन्छ। उक्त अनुमती पत्र विना उखु कटान गरे चिनी मिलहरुले उखु खरिद नै नगर्ने गरेका छन्। उखु विक्री गर्नका लागि अनिवार्य रुपमा कटान अनुमती आवश्यक भएपनि अधिकासं किसानहरु भने त्यहि अनुमती नपाएर माघको दोश्रो साता वितिसक्दा समेत उखु काट्नबाट बञ्चित भएको किसान शेर वहादुर साउदले बताए।
चिनी मिलहरुबाट उखु कटानको अनुमती पाउनका लागि किसानहरु झण्डै २ महिनादेखि धाईरहेका छन्। तर अधिकासं किसानहरुले अनुमती नपाएको अवस्थामा विचौलीयाले भने ३०, ४० वटा अनुमती पत्र पाएका अर्का किसान मानवहादुर चन्दले बताए। विचौलीयाहरुले पाएको अनुमती पत्र नेपाली किसानलाई नभई भारतीय किसानहरुलाई विक्री गर्ने र मिलहरु पनि भारतीय उखुहरु नै खरिद गर्ने गरेपछि नेपाली किसानले लगाएको उखु अहिले सम्म काट्नै बाँकी रहेको उनले बताए। विगतमा कञ्चनपुरका अधिकासं उखु किसानहरुले मंसिर सम्म उखु कटान गरिसकेपछि सोही खेतमा गहुँ खेती गर्दै आएका थिए। तर यो बर्ष मिलहरुले कटानको नै अनुमती नदिएपछि अधिकासं उखु किसानहरुले गहु खेती गर्न पाएका छैनन्। गहु लगाउन पाएका किसानहले पनि झण्डै एक महिना ढिलो गहुँ लगाएका छन्। भएकै उखु कटानको पनि अनुमती नपाएर किसानहरु उखु त्यसै खेर त जाने होईन भन्ने चिन्तामा छन् भने अर्कोतर्फ गहुँखेती पनि गर्न नपाएपछि परिवार पाल्नै समस्या हुने चिन्तामा छन्।
जिल्लाको दक्षिणी क्षेत्रमा मात्रै झण्डै ३० लाख क्विन्टल उखु बार्षिक उत्पादन हुने गरेको छ। नेपाली किसानको सट्टा भारतीय किसानहरुले उखु कटानको अनुमती पाएपनि सो क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरी भने भारतबाट उखु भित्रयाउनका लागि सक्रिय रहेको पनि आरोप लाग्दै आएको छ। दुवै सुरक्षा निकायले भारतबाट उखु ल्याउनका लागि बातावरण बनाईदिएको आरोप नेपाली किसानहरुको छ। नेपाली किसानले कटान अनुमती पत्र नपाएर उखु काट्न नपाएका बेला उखु उत्पादक किसान हकहित संरक्षण समितिका सचिव गोपाल पन्त भने विचौलीयाका कारण समस्या भएको बताउछन्।
यो विषयमा प्रतिक्रीया माग्न खोज्दा बेलौरीमा रहेको महाकाली चिनी मिलका सञ्चालक सम्पर्कमा आउन चाहेनन भने पुनरवासमा रहेको भागेश्वर चिनी मिलले भने कटान अनुमती पत्रमा आफुले कुनै बदमासी नगरेको दावी गरेको छ। मिलका सञ्चालक संकर वोगटीले उखु नपाएर १५ दिनदेखि २४ घण्टा सञ्चालन हुने मिल ५ घण्टा मात्रै सञ्चालन भईरहेकाले दावी गरे। उनले कटान अनुमती पत्र दिन आफुले कुनै कन्जुसाई नगरेको दावी गरे।