सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भुपू सैनिक सम्मेलन सम्पन्न

२०७८ चैत्र १०, ०६:२६ विन्दु चन्द

धनगढीः कैलालीमा नेपाली सेनाको भुतपूर्व सैनिक सम्मेलन २०७८ सम्पन्न भएको छ। भुतपूर्व सैनिकहरुको अभिलाषा, सेना प्रतिको समर्पण र भरोसा भन्ने मूल नाराका साथ भवानीदल गण तेघरी व्यारेक कैलालीमा सो सम्मेलन सम्पन्न भएको हो।

उक्त सम्मेलन कैलाली र कञ्चनपुरमा बसोवास गर्ने भूपू सैनिक तथा उनका आश्रित परिवारलाई लक्षित गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपालको सविंधानले सुम्पिएको जिम्मेवारी र सो अन्तरगत गर्नुपर्ने कार्यहरु र कार्यविधि जस्ता अन्य थप नियमहरुले बाँधिएर कार्यहरु गर्नुपर्ने बताए।

उनले जुनसुकै स्थानमा रहे पनि आफूहरुले पाएको जिम्मेवारी वहन गर्न कटिबद्ध रहेको स्मरण गराए। जिन्दगीको अन्तिम क्षणसम्म पनि नेपाल आमा र नेपाली जनताको सेवा गर्न कुनै पनि हालतमा नछोड्ने प्रण प्रधान सेनापति शर्माले गरे।  साथै उनले सैनिकको समुहमा बसेर काम गरेकाहरुले समाजमा पनि सोही अनुसार एकबद्धभएर एउटै मालामा बस्ने बानी बसाल्न सुझाव दिए। 

यस्तै प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैनीक कल्याणकारी कोष, नेपाल इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा विभिन्न प्रकारका लघुवित्त योजनाहरु, विभिन्न किसिमका तालिम र दक्षता विकास गर्नका लागि चाल्नुपर्ने कदमहरुलाई अगाडी बढाएको जानकारी दिए। शिक्षा र स्वास्थ्य नेपालका लागि महत्वपूर्ण कुरा रहेको बताउँदै उनले स्कुल, कलेज तथा अस्पतालहरु समेत सञ्चालनमा रहेको बताए। यस्तै एकल महिला तथा सैनिकका परिवारका लागि विभिन्न सिपमुलक तालिमको योजना रहेको समेत बताए। 

२०३४ सालमा जम्मा गरेको १ करोड २४ लाख १ हजार रुपैयाँबाट अहिले सैनिक कल्याणकारिकोषमा ६४ अरब जम्मा भइसकेको उनले जानकारी दिए। त्यसैबाट हरेक वर्ष शिक्षा, स्वास्थ्य लगायत अन्य कल्याणकारी कार्यमा लगभग १५ अरब खर्च हुने गरेको बताइएको छ।  प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपालमै बसेर परिश्रम गर्न अनुरोध समेत गरेका छन्। उनले विदेश जाने सोचमा भएकाहरुले त्यो सोच त्याग्न अनुराध गरे। 

कार्यक्रमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी, अप्रा उपरथी शम्शेर ठकुरी र बलाध्यक्ष रथी सरोजप्रताप राणाले कोषमार्फत् सञ्चालन भएका स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत कार्यक्रमले भूपू सैनिकको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गरेका थिए। 

सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा यस क्षेत्रको भेषभूषा तथा झाँकी प्रदर्शन समेत गरिएको थियो। 

उक्त सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस