सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय सेवाको दरबन्दी समायोजन गर्न माग

। फोटो स्रोत ।
२०७५ माघ १६, ०४:१९

शिक्षा सेवाका कर्मचारीहरुले संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा खटाउन सरकारसँग माग गरेका छन। कर्मचारी समायोजन ऐन अनुसार आफूहरुलाई प्रदेश र स्थानीय तहमा खटाउँदा संघीय सेवाको दरबन्दी भने कायमै राख्न माग गर्दै शिक्षा मन्त्रालय अन्तरगतका कर्मचारीहरुले बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले कर्मचारी समायोजन गर्दा प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वृत्तिविकासमा प्रतिकूल असर पर्न नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा आफूहरुलाई खटाउन माग गर्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराइएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, शिक्षा विभागीय कार्य समितिका अध्यक्ष हरिभक्त पौडेलले जानकारी दिए। शिक्षा सेवाका कर्मचारीले कर्मचारी समायोजन ऐनमा आफूहरुको वरीयताक्रममा नै प्रतिकूल हुने व्यवस्था गरिएको उल्लेख गर्दै तत्काल यस्तो प्रावधान हटाउन पनि सरकारसँग माग गरेका छन। उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षा सेवाका कर्मचारीहरुको मागका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग छलफल गरी आवश्यक निर्णय लिने आश्वास दिएको थियो। उनले शिक्षा तर्फका सबै कर्मचारीहरुलाई जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको थियो। मन्त्री पोखरेलले कर्मचारीको वृत्ति विकास नरोकिने गरी आवश्यक व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको पनि दावी समेत गरेका छन्।
 

कमेन्ट लोड गर्नुस