चुनावलाई लक्षित गरी २५ डीएसपीको काज सरुवा, १० जिल्लाका इन्चार्ज फेरिए
काठमाडौँः नेपाल प्रहरीले २५ जना प्रहरी नायव उपरीक्षकको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभागले २५ जना डीएसपीको काज सरुवा गरेको हो। जबकि हरेक वर्ष हुनुपर्ने प्रहरी अधिकृतहरूको सरुवा १८ महिनादेखि हुन सकिरहेको छैन। यस्तो अवस्थामा काज सरुवा गरिएको हो।
आवश्यकताअनुसार काज खटाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि खटाइएको क्षेत्रमा काम गर्न भनिएको छ। काज सरुवा गरिएकामध्ये १० जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ। डीएसपी प्रमुख हुने १० जिल्लाको इन्चार्ज फेरिएका हुन्। जसमा म्याग्दी प्रहरी प्रमुखको जिम्मेवारी तिलक भारतीले पाएका छन्। त्यस्तै पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतीक विष्ट, मनाङमा प्रेमसागर केसीलाई काज खटाइएको छ।
त्यस्तै सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोतीलाई काज सरुवा गरिएको हो। हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौलालाई समेत काज सरुवा गरिएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सरुवा बढुवालाई तीव्रता दिइएको छ। निर्वाचन आयोगले केही दिनमा निर्वाचन आचारसंहिता लागू गर्दैछ। त्यस अगावै सरकार सुरक्षा निकायका अधिकारी तथा प्रशासन संयन्त्रमा ठूलो मात्रामा फेरबल गर्दैछ।