कांग्रेस डडेल्धुराका कार्यकर्ता काठमाडौंमा खाएको नतिरी भागे, डेढ लाखको बिल भाइरल
धनगढी: गत मंसीर २७ गते नेपाली कांग्रेसको १४औं महाधिवेशन राजधानी काठमाडौंमा भएको थियो। सोही महाधिवेशनमा सहभागी बन्न पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका नेता तथा कार्यकर्ता राजधानी पुगे। उनीहरु मध्येको एक २८ जनाको टोली गौशालामा रहेको होटल मनिशंकरमा बसेको थियो।
उनीहरु मंसीर २३ गते नै उक्त होटलमा बसिसकेका थिए। महाधिवेशन अवधि र महाधिवेशन सम्पन्न भइसकेपछि पनि उनीहरुमध्ये केही उक्त होटलमा पुस ४ गतेसम्म बसेका थिए। सोही अवधिमा कोठामा सुतेको र खाना तथा नास्ता खाएको जम्मा बिल १ लाख ५० हजार ९ सय पुगेको थियो। तर उक्त बिल भुक्तानी हालसम्म नभएको होटलका सञ्चालक यादव सुवेदीले बताएका छन्। ‘त्यतिबेला त्यहाँ बसेका सबै निस्के। अहिले चैत महिना लागिसक्यो तर बारम्बार उनीहरुलाई फोन गर्दा पनि बिल भुक्तानी दिन अटेर गरिएको छ’ उनले भने। अहिले उक्त डेढ लाखको बिल सामाजिक सञ्जालमा भाइरल बनेको छ।
उनका अनुसार ती २८ जनालाई डडेल्धुराका पूर्व जिल्ला समन्व्य समिति प्रमुख स्व गणेश भट्टले होटलमा पठाएका थिए। तर उनको निधन भएपछि बिल भुक्तानीका लागि कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदलाई सम्पर्क गर्दा पनि कुनै सुनुवाई नभएको होटल मनिशंकरमा सञ्चालक सुवेदीले बताए। ‘महाधिवेशन सकिएपछि बिलबाफतको पैसा माग्दा होटलमा बसेका दानबहादुर पालले जिल्ला सभापति भीमबहादुर साउदलाई फोन गर्न भने। साउदलाई फोन गर्दा सरस्वती खड्कालाई जिम्मा दिइएको र उहाँलाई फोन गर्न भनियो। उहाँले भोलिपर्सी दिन्छु भन्नुभयो। २ दिनपछि फोन गर्दा उनले गाउँ पुगिसके भनेर फोन काटिन्’ होटल सञ्चालक सुवेदीले भने।
उनले हालसम्म पनि कतैबाट बिल तिर्ने भनेर नभनिएको बताएका छन्। ‘मसँग सबै बिल छ। सीसीटिभी क्यामेरा फुटेज छ। अहिले पैसाको लागि फोन गर्दा कोही कसैलाई त कोही कसैलाई फोन गर्न भन्छन्’ उनले गुनासो गर्दै भने, ‘दानबहादुर पालसँग कुरा भएको थियो। उनले प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाको नम्बर दिए। फोन गर्दा कसैको उठ्दैन।’
यस विषयमा उक्त होटलमा बसेका मध्येका दानबहादुर पाललाई सोध्दा उनले होटल साहुलाई नै सबैकुरा जानकारी भएको बताए।