नेकपाका सांसद थापाले मन्त्रीलाई भने, बी प्रो–एक्टीभ अलवेज
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाका प्रदेशसभा सदस्य रतन थापाले मन्त्रीहरुलाई विकास निर्माणका काममा सक्रिय हुन सुझाव दिएका छन्।
आजको प्रदेशसभा बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथिको छलफलमा भाग लिदै प्रदेशसभा सदस्य थापाले प्रदेशको पुँजीगत बजेट खर्चको अवस्था न्युन रहेको प्रसंग उल्लेख गर्दै मन्त्रीहरुलाई सक्रियता बढाउन सुझाव दिएका हुन्।
अर्थ मन्त्री झपट बोहोराले प्रदेशसभा बैठकमा बजेट खर्च गर्न विधि बनाउनुपर्ने कुरा गरेको स्मरण गराउदै विधि बनाउन सरकारलाई कसले रोकेको छ भनी प्रतिप्रश्न समेत गरे। विधि बनाउन नै अप्ठ्यारो परेको भए भोली परिणाम के देखाउन भन्दै प्रदेशसभा सदस्य थापाले स्थानीय सरकार पुँजीगत बजेट खर्चमा अगाडी बढिसकेको तर प्रदेश सरकारले खर्च गर्न नसकेको भन्दै चिन्ता समेत व्यक्त गरे।
मन्त्रीहरुलाई आफ्नो कुरालाई सुझावको रुपमा लिन आग्रह गर्दै थापाले, भने ‘बी प्रो–एक्टीभ अलवेज ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिना सम्म पुँजीगत बजेट खर्च गर्न नसकेको भन्दै आलोचना हुदै आएको छ। प्रदेशसभा बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीनिता चौधरी, आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट उपस्थित थिए। उनले त्यसअघि प्राकृतिक प्रकोप र दैवी प्रकोपबाट प्रभावित भएकाहरुलाई राहात दिन समेत आग्रह गरे। प्राकृतिक प्रकोपबाट दुःखमा परेका जनताको घाउमा सरकारले मलम लगाउन नसकेको आरोप पनि उनको थियो।