दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थाल्यो
दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थालेको छ।
डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा सङ्क्रमण बढेको हो।
ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्या बढेको छ। चीनमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३७ जनामा सङ्क्रमण देखिएको छ।
सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलो पटक कोरोना सङ्क्रमितको ज्यान गएको छ।
पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक साढे तीन लाखभन्दा धेरैको सङ्ख्यामा सङ्क्रमण देखिएको छ। त्यस्तै हङकङमा एकैदिन १६ हजार ५ भन्दा धेरै सङ्क्रमित थपिएका छन्। सिङ्गापुरमा हिजो दश हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।
विश्व स्वास्थ्य सङ्गठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ। उपलब्ध खोप लगाउन र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि डब्ल्यूएचओले आग्रह गरेको छ।