रेड पान्डाको छाला र चरेससहित ६ जना पक्राउ
बाँकेः बाँके प्रहरीले रेड पान्डाको छाला र लागुऔषध चरेससहित ६ जनालाई आज आइतवार दिउँसो पक्राउ गरेको छ।
नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटलबाट दुई थान रेड पान्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी पुष्पलाल चोकमा रहेको एक होटलबाट तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीकोटका प्रवीण शाही र नेपालगञ्जका राज कार्की रहेका छन्।
रेडपान्डा कारोबारीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले बताए।
यस्तै चरेस ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण २०३३ को दफा १४ (घ) अनुसार एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यस्था छ।