सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘देशको सेवा हैन, आफ्नो आवश्यकता पूरा गर्न म्यादीमा भर्ना हुनुछ’

म्यादीमा भर्ना हुनेको लर्काे

२०७८ चैत्र ६, ०५:५० कमल सावद

धनगढीः कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६ का ५० वर्षिय मीनबहादुर तामाङ म्यादी प्रहरीको फारम बुझाउने लाइनमा थिए। जिल्ला प्रहरी कार्यालय कैलालीको प्राङगणमा चर्को घामको प्रवाह नगरी उनी लाइनमा उभिएका थिए। कृषि पेसा गर्दै आएका तामाङ छोटो समयमा खर्च जुटाउन म्यादीमा भर्ना हुन इच्छुक भएका हुन्। ‘त्रिभुवन बस्तीबाट धनगढी नजिक भएर यता आए। काम केही छैन। किसान हुँ। अहिले खाली भएकाले फारम भर्न आएको हुँ,’ उनले भने।  कञ्चनपुरकै महादेव उपाध्याय पनि विहान १० बजेदेखि लाइनमा बसेका थिए। ‘बिहान १० बजे आएका हौं। ठेलामठेल छ। घाममा लाइनमा छौं। सारै समस्या भएको छ। सरकारले सोचि दिनुपर्‍यो,’ उनले भने।  

नेपालमा रोजगारी नभएको र छोटो समयमा पैसा कमाउन सकिने भन्दै उनीहरु म्यादीमा भर्ना हुन आएका हुन। ‘म्यादीको बन्ने इच्छा होइन। सोचे अनुसारको काम पाइँदैन। २९ वर्षको भए। कुनै काम पाएको छैन। देशको सेवा भन्दा पनि आफ्नो आवश्यकता पूरा गर्न म्यादीमा भर्ना हुन आएको हुँ। आफ्नो आवश्यकता पूरा भएपछि मात्र देशको सेवा गर्ने हो,’ कैलालीका महेश चौधरीले भने। 

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २ हजार ४ सय ५७ जना म्यादी प्रहरी माग गरिएको छ। तर एकैदिन सयौंको संख्यामा म्यादीका लागि आवेदन परेकाे छ। आइतबार दिनभरि जिल्ला प्रहरी कार्यालय कैलालीमा म्यादीमा आवेदन दिनेको भिड रहेको थियो। उनीहरुलाई व्यवस्थापन गर्न प्रहरीलाई समस्या देखिएको छ। 

म्यादी प्रहरीका लागि मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले चैत ११ गतेसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी उपरिक्षण बेदप्रकास जोशीले बताए। भर्ना हुन आउनेहरुको संख्या धेरै रहेको उनले बताए। 

कैलालीमा भर्ना हुने म्यादीले २ सय ३६ मतदान स्थल तथा ६ सय २३ मतदान केन्द्रको सुरक्षामा प्रहरीलाई सहयोग गर्नेछन्।  स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा कुल ९ हजार ९ सय ३७ म्यादी प्रहरी भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरमा १ हजार ४ सय ६९, कैलालीमा २ हजार ४ सय ५७, बैतडीमा ८ सय १५, दार्चुलामा ७ सय ४२, डोटीमा ८ सय १०, डडेल्धुरामा ६ सय ५२, बझाँङमा एक हजार ९३, अछाममा १ हजार २ सय ३१ र बाजुरामा ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस