सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गरिँदै

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ६, १२:५४ खबर संवाददाता

कञ्चनपुरः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको छ। सो कार्यका लागि शुक्लाफाँटा नगरपालिका–११ मा ६३ हजार ३६० वर्गमिटर (नौ बिघा सात कट्ठा दुई धुर) को सरकारी जमिन बीस वर्षका लागि लिजमा लिन सम्झौता गरिएको छ। पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको छ।

बहुवर्षीय योजनाअन्तर्गत रु २० करोडको लागतमा भौतिक संरचना निर्माण गरिने शिक्षालयका प्रमुख दीपक बिष्टले बताए। प्रतिवेदनअनुसार शिक्षालयको मुख्य प्रवेशद्वार, गार्ड हाउस, पार्किङस्थल, मुख्य प्रशासकीय भवन, अध्ययन कक्ष १ र २ एसेम्बली ग्राउन्ड, प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, खुला खेलकुद मैदान र आन्तरिक मार्ग जोडने पुल निर्माण गरिने छ।  

यसैगरी स्टाफ क्वाटर, होस्टेल, भलिबल कोर्ट, ब्याटमिन्टन कोर्ट, फुटबल ग्राउन्ड, प्रिन्सिपल क्वाटर, ल्याब एन्ड वर्कशप, ट्वाइलेट, बैठक कक्ष, सरस्वती मन्दिर, ओभरहेड पानी ट्याङ्की, इलेक्ट्रिक वर्कशप, मेकानिकल मेसिन एन्ड सिएनसी वर्कशप, मेडिकल फ्रेब्रिकेशन वर्कशप आदि निर्माण गरिनेछन्। “शिक्षालयका कार्यक्रम सञ्चालनका लाागि भौतिक पूर्वाधार निर्माण गर्न २५ बिघा जग्गा आवश्यक पर्छ,” कार्यालय प्रमुख बिष्टले भने, “नौ बिघा जग्गा सात कट्ठा दुई धुर जग्गा लिजमा लिनका लागि सम्झौता भइसकेको छ। अहिले १५ बिघा जग्गा लिजमा लिने प्रक्रियामा जाँदैछौँ।” सुदूरपश्चिम क्षेत्रकै उत्कृष्ट बहुप्राविधिक शिक्षालय बनाउने उद्देश्यका साथ कार्य अगाडि बढाइएको उनले बताए। 

हाल लिजमा लिइएको जग्गामा तारबार गर्न रु १४ लाख ९९ हजार ८५७ प्राप्त भई परिचालन गरिएको छ। “वर्कशप निर्माणका लागि रु १९ लाख ९९ हजार ३५० मा बोलपत्र आह्वान गर्न लागेका छौँ। दुई महिनाभित्रै निर्माण पूरा गर्ने गरी कार्य अगाडि बढाइएको छ,” कार्यालय प्रमुख बिष्टले भने। बजेट अभावले शिक्षालयमा पठनपाठन गर्दै आएका विद्यार्थीहरुका लागि प्रयोगात्मक सामग्रीको अभाव रहेको उनको भनाइ थियो।

विसं २०७६ मा स्थापना भई सञ्चालनमा रहेको उक्त शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल्सलगायत तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ।“डिप्लोमा इन फार्मेसी, एग्रिकल्चर, रेफ्रिजेटर एन्ड एसीलगायत कक्षा सञ्चालनका लागि स्वीकृति प्रदान भएको छ,” उनले भने, “तर बजेट र भौतिक पूर्वाधार अभावले सञ्चालन गर्न सकेका छैनौँ।” यसका अतिरिक्त बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि शिक्षालयले छोटो अवधिका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस