भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियोः प्रचण्ड
काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु बिग्रँदै गएको स्वीकार गरेका छन्। सिन्धुलीको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै प्रचण्डले अब चुनावमा आत्मसमीक्षा गरी माफी मागेर जनतामाझ जानुपर्ने बताए। यसअघि कमजोरी भयो, अब त्यसो गर्दैनौं भनेर जनताका घरघरमा जान कार्यकर्तालाई निर्देशन पनि दिए। जनतासँग माफी माग्न अफ्ठेरो नमान्न पनि उनले आग्रह गरे।
‘यो औपचारिक निर्वाचन मात्रै होइन, जनआन्दोलनका उपलब्धीका रक्षा गर्ने वा मर्न दिने भन्ने लडाइँ हो। हामी पहिला लडाइँमा जाँदा घाइते भइन्छ भनेर आफैं स्ट्रेचर बोकेर, पक्कै मरिन्छ भनेर कोदालो बोकेर गइन्थ्यो खाल्डो खनेर पुर्नका लागि।’ उनले भने, ‘तर यता आइसकेपछि थाहै नपाइकन भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियो । हामी अलिकति बिग्रिएका छौं, सिंह हौं तर भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियो, अब फेरि एकपटक सिंह भएर गर्जनुपर्छ।’