सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय सरकारको क्षेत्रीय सहरीमार्फत निर्माणाधिन धनगढीका सडकमा बत्ती जडान

२०७८ चैत्र ५, १०:३९ कमल सावद

धनगढीः संघीय सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रममार्फत धनगढीमा निर्माण थालिएको सडकमा बत्ती जडानको काम थालिएको छ। धनगढी उपमहानगरपालिकाको डिभोटी–पिपलचौतारा सडकमा बत्ती जडानको काम सकिएको छ भने सहिद गेट–क्याम्पस गेट सडकमा पनि जडानको तयारीमा निर्माण कम्पनी छ। 

निर्माणको चरणमा रहेको ८७० मिटरको डिभोटी–पिपलचौतारा सडकमा बत्ती जडानको काम सकिएको हो। संघीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइमार्फत सडक निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनले धनगढी उपमहानगरपालिकाले पोल दिएपछि र विद्युत प्राधिकणले प्राविधिक सहयोग गरेपछि सडक बत्ती जडानको काम पूरा गरेको जनाएको छ।

कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले भने, ‘डिभोटीदेखि पिपलचौतारासम्म विद्युतको काम सकिएको छ। स्टेट लाइटहरु पनि हालेका छौ। ड्रेनको काम अब सुरु हुन्छ। चैतको १२ गतेबाट कालोपत्रे गर्छौ।’ एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजानाअन्तर्गत धनगढीमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको छ।

१० किलोमिटर सडकमा झण्डै चार सय विद्युत पोल आवश्यक पर्ने छन्। तर धनगढी उपमहानगरपालिकाले एक सय ८० वटा पोल मात्र खरिद गरेको छ। कालोपत्रेको तयारीमा रहेको डिभोटी–पिपलचौतारा सडक र सहिदगेट–क्याम्पसगेट सडकमा उक्त पोलहरु राख्ने तयारी छ। 

नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले भने, ‘सडकमा पोल गाडेर लाइट लगाइएको छ। सबै क्षेत्रीय सहरी विकासका हुन्। टुटफुट भएकाहरुमा हामीले सहयोग गर्ने भनेका छौं।’ धनगढीको मुख्य सडकको काम सुरु भएको छैन। एक दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडकको काम सुरु नभएकाले विद्युत पोल कम मात्र खरिद गरिएको उपमहानगरपालिकाले जनाएको छ।

वडा नम्बर २ को चर्चसम्मको दुई दशमलव सात किलोमिटर सडक, सात सय मिटरको क्याम्पस गेट–जाखोरताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पसगेट–चटकपुर सडक, ८७० मिटरको डिभोटी–पिपलचौतारा सडक, एक दशमलव १५ किलोमिटरको हसनपुर सडक र ४३० मिटरको मालपोत सडक कालोपत्रे भइरहेको छ। 

कालिका कन्ट्रक्सनका प्रतिनिधि खरेलले भने, ‘विद्युतले पठाएका मजदुरको पैसा हामीले दिने, पोलहरु उपमहानगरपालिकाले दिने र सामान परिवर्तन गर्नु परेमा विद्युतले सहयोग गर्ने सहमति भएको छ।’ मुख्य बजारमा सडक २४ मिटर चौडा हुने भए पनि पानीको पाइप बिस्तारको टुंगो लागेको छैन।

सहिदगेट–क्याम्पसगेट सडकमा पनि नीजि संरचनाहरु अझै खाली भएका छैनन्। एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजानाअन्तर्गत ४२ किलोमिटरका २३ वटा सडक छनोट गरिएको थियो। तर ४२ किलोमिटरका लागि विनियोजित बजेटमा १० किलोमिटरका ७ सडक मात्रै निर्माण गर्न थालिएको छ। उपमहानगरपालिकाले सडकको चौडाई पनि घटाउने निर्णय गरेको थियो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस